२०८३ श्रावण १० गते आइतवार

images
  • सिंचाई
  • ऊर्जा तथा सिँचाइ क्षेत्रमा चार अर्ब...

ऊर्जा तथा सिँचाइ क्षेत्रमा चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति

ऊर्जा तथा सिँचाइ क्षेत्रमा चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति

सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं । लगातार भएको वर्षका कारण आएको बाढी पहिरोले अन्य क्षेत्रले जस्तै उर्जा क्षेत्रले पनि ठूलो क्षति व्यहोर्नु प¥यो । देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिब चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ऊर्जातर्फ तीन अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोडको क्षतिको विवरण प्राप्त भएको र विवरण अझै सङ्कलन भइरहेका सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिनुभयो ।

    मन्त्री खड्काले कुल ६२५ मेगावाट जडित क्षमताका ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा क्षति भएको जानकारी दिनुभयो । त्यस्तै आपत्कालीन अवस्थाका कारण आयोजना बन्द गर्नुपर्दा करिब ११ सय मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन एक हजार १० मेगावाट १५ वटा विद्युत् आयोजनामा पनि क्षति पुगेको उहाँको भनाइ छ ।

    प्रसारण लाइनतर्फ काबेली कोरीडोर अन्तर्गतको दमक गोदक १३२ केभी, खिम्ती लामो साँघु १३२ केभी र सोलु कोरीडोर प्रसारण लाइनमा क्षति पुगेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार इलामको माई नदीमा आएको बाढीले काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्‍याएको छ ।

    बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । उक्त लाइनबाट दैनिक रूपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

    काबेली कोरीडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान ७५० मिटर रहेको छ ।

    सिँचाइमा असर

    नदी नियन्त्रणका लागि बनाइएका विभिन्न बाँध तथा स्परहरू भत्केका छन् । मन्त्रालयका अनुसार पूर्वी नेपालका मेची, कोशी, खाँडो, रातो, कमला, लालबकैयालगायतका नदी नियन्त्रणका पूर्वाधारहरू बगेका छन् । त्यस्तै नारायणी, मस्र्याङ्दी, तिनाउ, पश्चिम राप्ती र कर्णाली नदीमा पनि क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, बागमती सिँचाइ आयोजना, कोशी पम्प चन्द्र नहर, कमला सिँचाइ व्यवस्थापन आयोजना, महाकाली सिँचाइ आयोजनाका बाँध तथा नहरमा क्षति पुगेका छन् । निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सनको कफर ड्याम बगेको छ ।

    विद्युत् निर्यात प्रभावित

    दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भएको क्षतिले नेपालको विद्युत् निर्यात प्रभावित भएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब तीन सय मेगावाट मात्र निर्यात भइरहेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले तामाकोशी जलविद्युत् आयोजना तत्काल पुनः स्थापना गर्न नसके नेपालको निर्यात व्यापारमा ठुलो क्षति हुने बताउनुभयो । बिग्रका प्रसारणलाइन निर्माणका लागि काठमाडौँबाट विज्ञ प्राविधिक पठाउन खोजेको तर हवाई टिकट नै पाउन नसकिएको उहाँले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा उपस्थित स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी प्रभावित आयोजना पुनर्निर्माणमा सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend