काठमाडौँ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनलमा आर्सनल फेरि एकपटक इतिहास बनाउनबाट चुकेको छ। रोमाञ्चक फाइनलमा पिएसजीले पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको छ।
पुस्कास एरेनामा भएको फाइनलमा आर्सनलले खेलको सुरुवात शानदार बनाएको थियो। काई हाभर्ट्जले सुरुको पाँचौं मिनेट भित्र गोल गर्दै लन्डन क्लबलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा उस्मान डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा दुवै टोली दबाबमा देखिए पनि अन्ततः पिएसजीले आफूलाई बढी संयमित साबित गर्यो। आर्सनलका केही खेलाडीले अवसर गुमाउँदा फ्रेन्च क्लबले उपाधि रक्षा गर्न सफल भयो। आर्सनलका लागि एजे र ग्याब्रियलले पेनाल्टी प्रहार गर्न चुकेका थिए। यससँगै आर्सनलको पहिलो च्याम्पियन्स लिग जित्ने सपना फेरि अधुरै रह्यो।
प्रिमियर लिग उपाधि जित्दै ऐतिहासिक सिजन बिताएको आर्सनलका लागि यो हार निकै पीडादायी हुनेछ। २००६ पछि पहिलोपटक च्याम्पियन्स लिग फाइनल पुगेको मिकेल आर्टेटाको टोली उपाधिबाट केवल एक कदम टाढा रोकिएको छ। अर्कोतर्फ, लुइस एनरिकेको पिएसजीले युरोपेली फुटबलमा आफ्नो नयाँ प्रभुत्वलाई थप मजबुत बनाएको छ।
