काठमाडौं । प्रभु बैंकमा भएको कर्जा दुरुपयोग सम्बन्धी अनुसन्धानमा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश (ओपी) पाण्डे र प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पनि तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूविरुद्ध पक्राउपुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।
यस प्रकरणमा प्रभु बैंकको कर्जा अपचलन, प्रभु मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्टसँग मिलेमतो गरी बैंकलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डीसीईओ मनिराम पोखरेलसहित चार जना कर्मचारी तथा व्यवसायी गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई यसअघि नै पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
सीआईबीले सुरुमा तीनवटा आरोपमा अनुसन्धान थालेकोमा थप एक आरोप समावेश गर्दै अनुसन्धानको दायरा विस्तार गरेको हो । पछिल्लो अनुसन्धान जानकी मेडिकल कलेज र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिमार्फत भएको कर्जा दुरुपयोगसँग सम्बन्धित रहेको छ ।
सीआईबीले उक्त कर्जा दुरुपयोग प्रकरणमा संलग्न रहेको आशंकामा जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे र प्रभु बैंककी चिफ बिजनेस अफिसर पन्तसहितलाई पक्राउ गर्न पाटन उच्च अदालतबाट पक्राउपुर्जी लिएको छ । पक्राउपुर्जी जारी भएपछि आइतबार सीआईबीको टोली पन्तलाई पक्राउ गर्न प्रभु बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालय पुगेको थियो ।
अनुसन्धानअनुसार ओमप्रकाश पाण्डेको नेतृत्वमा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिले २०७५ साउनमा कलेज सञ्चालनका लागि जग्गा खरिद र सञ्चालन खर्च भन्दै लिएको १३ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आशंका छ । सोही कर्जामध्ये ११ करोड रुपैयाँभन्दा बढी रकम प्रभु बैंककै खाताबाट जानकी मेडिकल कलेजको खातामा स्थानान्तरण गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार बैंकका सीईओ शेरचनसहित उच्च व्यवस्थापनको मिलेमतोमा प्रक्रिया पूरा नगरी कमसल धितोमा पाण्डेको कम्पनीलाई कर्जा दिइएको र उक्त रकम दुरुपयोग भएको देखिएको छ । राष्ट्र बैंकको अनुमति र जानकारी बिना नै कर्जा प्रवाह गरी नियामक निकायको आँखा छल्ने प्रयास गरिएको दाबी अनुसन्धानमा संलग्न अधिकारीहरूको छ ।
राष्ट्र बैंकसँग विज्ञ टोली माग गरी अध्ययन गराइएको र सो टोलीले तयार पारेको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले स्पष्ट पारेको छ । उनका अनुसार राष्ट्र बैंकका निर्देशक तहका कर्मचारीको नेतृत्वमा खटिएको विज्ञ टोलीको प्रतिवेदनले कर्जा प्रवाहमा गम्भीर कैफियत औंल्याएको थियो ।
इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालि ओमप्रकाश पाण्डेको एकल लगानीको कम्पनी हो । सीआईबीका अनुसार जानकी मेडिकल कलेजमा ऋण लगानी र सेयर कारोबार विगतदेखि नै विवादित रहँदै आएको थियो । राष्ट्र बैंकले ऋण प्रवाहमा रोक लगाएपछि फर्जी तथा डमी कम्पनीमार्फत ऋण प्रवाह गरी सोही रकमबाट जानकी मेडिकल कलेजको ब्याज तिरेर ऋण नियमित देखाउने गरिएको पाइएको छ ।
यसैबीच, राम जानकी हेल्थ फाउण्डेसन अन्तर्गत सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेविरुद्ध २०७१ साउनमा कलेजका विद्यार्थीबाट २५ लाखदेखि ४० लाख रुपैयाँसम्म असुली ठगी गरेको आरोपमा उजुरी परेको थियो । सो उजुरीपछि उनी फरार भएको र त्यसअघि नै प्रभु बैंकले कलेजमा ठूलो लगानी गरिसकेको सीआईबीले जनाएको छ ।
कलेज सञ्चालक ठगी आरोपमा फरार भएपछि बैंकको कर्जा जोखिममा परेको भए पनि आवश्यक प्रोभिजन नगरी वैकल्पिक उपाय अपनाइएको भन्दै अनुसन्धान अघि बढाइएको छ । सोही कारण प्रभु बैंकका सीईओ शेरचनसहित उच्च पदस्थ अधिकारीहरू हिरासतमा पुगेका हुन् ।
