काठमाडौं : जेन-जी आन्दोलनका क्रममा ‘टीओबी’ (Tibetan Original Blood) लेखिएको टिसर्ट लगाएका एक युवक पेस्तोलसहित देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
विगत केही दिनयता जेन-जी आन्दोलनमा शंकास्पद व्यक्ति घुसपैठ गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न फोटो तथा भिडिओहरू सार्वजनिक भइरहेका थिए। तीमध्ये एक तस्बिरमा युवकलाई खुलेआम पेस्तोल बोकेको देखिएपछि सुरक्षा निकाय थप सतर्क बनेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले ती युवकको तस्बिर र सम्बन्धित भिडियो फुटेजहरू संकलन गरिएको जानकारी दिए। “हामी ती व्यक्तिको पहिचानमा जुटिरहेका छौं, चाँडै पक्राउ गरिनेछ,” भट्टराईले भने।
सामाजिक सञ्जालमा यस्ता शंकास्पद व्यक्तिहरूले जेन-जी आन्दोलनमा सहभागी भीडलाई उक्साउने प्रयास गरेको आरोपसमेत लागिरहेको छ। ‘टीओबी’ लेखिएको टिसर्ट लगाएका युवाहरूको उपस्थिति र गतिविधिले आन्दोलनमा अन्य उद्देश्यमाथि पनि प्रश्न उठेको छ।
यसबीच, प्रहरीले अशान्ति फैलाउने उद्देश्यले हतियार बोकेर प्रदर्शनमा सहभागी हुने वा उक्साउने प्रयासमा संलग्न कसैलाई पनि कारवाही गरिने चेतावनी दिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
