काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पूर्व विश्वविजेता वेस्ट इन्डिजमाथि ऐतिहासिक जित दर्ता गर्दै तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा विजयी सुरुआत गरेको छ।
शनिबार शारजाहमा सम्पन्न पहिलो टी–२० खेलमा नेपालले उत्कृष्ट बलिङ र चुस्त फिल्डिङको भरमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै १–० को अग्रता लिएको हो।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै रोकियो।
भुर्तेलको अलराउन्ड प्रदर्शन, बलरहरू चम्किए
नेपालका लागि अलराउन्डर कुशल भुर्तेल नायक बने। उनले ब्याटमा ६ रन बनाउँदा बलिङमा ४ ओभरमा मात्र १७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उनले जेसन होल्डरलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए भने नविन बिदाइसीलाई हिट विकेटमा आउट गराए।
ललित राजवंशीले किफायती बलिङ गर्दै २ ओभरमा मात्र ६ रन दिँदै १ विकेट लिएका थिए।
त्यस्तै, दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव र कप्तान पौडेलले पनि समान १–१ विकेट लिए।
नेपालको चुस्त फिल्डिङका कारण वेस्ट इन्डिजका दुई ब्याट्सम्यान – काइल मेयर्स र केसी कार्टी रनआउट हुन पुगे, जसले खेलको नतिजामा निर्णायक असर पारेको थियो।
वेस्ट इन्डिजको असफल रनचेज
वेस्ट इन्डिजका लागि नविन बिदाइसीले सर्वाधिक २२ रन बनाए भने अमिर जांगु र फाबियन एलेनले १९–१९ रनको योगदान दिए।
बलिङमा भने अनुभवी जेसन होल्डरले प्रभावशाली प्रदर्शन गरे। उनले ४ ओभरमा २० रन दिँदै ४ विकेट लिए। नविन बिदाइसीले पनि २९ रन खर्चेर ३ विकेट हात पारे।
नेपालको संघर्षपूर्ण ब्याटिङ
यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।
इनिङ्सको सुरुआत निकै कमजोर रह्यो, नेपालले १२ रनमै दुवै ओपनर – कुशल भुर्तेल (६) र आसिफ शेख (३) गुमाएको थियो।
तर, कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हाले।
रोहितले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए भने कुशल मल्लले २१ बलमा ३० रन बनाए, जसमा २ चौका र २ छक्का सामेल थिए।
गुलशन झाले १६ बलमा २२ रन, जबकि दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रनको योगदान दिए।
अबको खेल तालिका
नेपालले अब दोस्रो तथा तेस्रो टी–२० खेल क्रमशः असोज १३ (सेप्टेम्बर ३०) र असोज १४ (अक्टोबर १) मा खेल्नेछ।
