काठमाडौं । प्रिमियर लिगको रोमाञ्चक भिडन्तमा म्यानचेष्टर युनाइटेडले शनिबार चेल्सीलाई आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा २-१ ले हराएको छ।
खेलमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डस र मिडफिल्डर कासेमिरोले गोल गरेर टोलीलाई जित दिलाए। चेल्सीका डिफेन्डर ट्रेभोह चालोबाहले एकमात्र गोल फर्काए। खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सीमित भएपछि खेल थप रोमाञ्चक बनेको थियो।
यो जितसँगै युनाइटेडले ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा चढेको छ। अर्कोतर्फ, पहिलो हारको सामना गरेको चेल्सी ५ खेलमा ८ अंकसहित छैटौं स्थानमा छ।
खेलको सुरुवातमै चेल्सीले ठूलो झट्का बेहोर्नुपर्यो। गोलकिपर रोबर्ट साञ्चेजले पाँचौं मिनेटमै रातो कार्ड पाएर मैदान छाडेपछि चेल्सी सुरुदेखि नै दबाबमा पर्यो। युनाइटेडले यो अवसरको भरपूर फाइदा उठायो। १४औं मिनेटमा फर्नान्डसले गोल गरेर टोलीलाई अग्रता दिलाए। गोल अन साइड वा अफ साइड भन्ने बिषयमा एकै छिन् बिबाद भएको थियो। त्यसपछि ३७औं मिनेटमा कासेमिरोले अर्को गोल थपेर युनाइटेडको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम क्षणमा युनाइटेडका कासेमिरोले दोहोरो पहेंलो कार्ड (रातो कार्ड) पाएर बाहिरिएपछि खेलमा नयाँ मोड आयो। दोस्रो हाफमा दुवै टोली १० खेलाडीका साथ मैदानमा उत्रिए। चेल्सीले खेलमा फर्कने प्रयास गर्यो र ८०औं मिनेटमा चालोबाहले गोल गरे। तर, यो गोलले चेल्सीलाई हारबाट जोगाउन सकेन।
शनिबारकै अन्य खेलमा लिभरपुलले एभरटनलाई २-१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको रेकर्ड कायम राख्यो। यस्तै, फुलहमले ब्रेन्टफोर्डलाई ३-१, लिड्स युनाइटेडले उल्भ्सलाई ३-१ र क्रिस्टल प्यालेसले वेस्टह्यामलाई २-१ ले हराए। ब्राइटन र टोटनहमले २-२ को बराबरी खेले भने बर्नली र नटिङघम फरेस्टले १-१ को बराबरीमा अंक बाँडे।
