काठमाडौ। काठमाडौं महानगरपालिकाले डेंगु रोगको बढ्दो खतरालाई नियन्त्रण गर्न ‘वाक एन्ड एक्ट’ नामक विशाल अभियान संचालनमा ल्याई रहेको छ। यहि अभियान अन्तर्गत आज सिंहदरबार परिसर भित्रै लामखुट्टेका प्रजनन स्थलहरू खोजेर नष्ट गर्ने ऐतिहासिक कदम चालिएको छ। यो अभियानले काठमाडौंलाई डेंगुबाट मुक्त राख्ने दिशामा नयाँ उत्साह र उमङ्ग थपेको छ।
नेपालको प्रशासनिक केन्द्र सिंहदरबारलाई डेंगुको जोखिमबाट सुरक्षित राख्न काठमाडौं महानगरले आज विशेष अभियान सञ्चालन गरेको छ। सिंहदरबार भित्र आज स्वास्थ्यकर्मी, स्वयंसेवक र सरसफाइकर्मीहरूको संयुक्त टोलीले पानी जम्ने ठाउँ, फोहोर रहेको ठाउँ, टायर र अन्य वस्तुहरू, जहाँ लामखुट्टेले प्रजनन गर्छन्, तिनलाई नष्ट गर्ने कार्यमा जुटेका छन्। यो अभियानले स्थानीय समुदाय र कर्मचारीहरूलाई डेंगुबाट जोगाउन ठोस कदम चालेको छ।
यो अभियानको नेतृत्व गरेका काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोकथाम तथा नियन्त्रणका फोकल पर्सन ऋषि प्रसाद भुसालले डेंगु नियन्त्रणमा आफ्नो अटल प्रतिबद्धता देखाएका छन्। भुसालले भने, “गत वर्ष डेंगुले महामारीको रूप लियो, जसले धेरैको ज्यान लियो र हजारौँलाई सङ्क्रमित बनायो। लामखुट्टे मारेर मात्र यो रोग नियन्त्रण हुँदैन। हामीले लामखुट्टेले अण्डा पार्ने ठाउँहरू—जस्तै फूलका गमलामा जमेको पानी, फालिएका प्लास्टिक र टायरहरू—नष्ट गर्नुपर्छ। यो समग्र दृष्टिकोणले मात्र डेंगु नियन्त्रण सम्भव छ।”
भुसालको यो दृढ सङ्कल्प र नेतृत्वले काठमाडौंवासीलाई डेंगुको त्रासबाट मुक्त हुने आशा जगाएको छ। उनको योजनाबद्ध रणनीति र अभियानको प्रभावकारी कार्यान्वयनले देशभरका अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिएको छ।
‘वाक एन्ड एक्ट’ अभियान केवल एक अभियान मात्र होइन, यो डेंगु रोगविरुद्धको लडाइँमा सामूहिक शक्ति र जागरूकताको प्रतीक हो। यो अभियान काठमाडौंका ३२ वटै वडाहरूमा एकसाथ सञ्चालन भई रहेका छन् , जसले स्थानीय समुदायलाई डेंगुका लक्षण, रोकथामका उपाय र लामखुट्टेका प्रजनन स्थलहरू नष्ट गर्ने महत्त्वबारे सचेत गराई रहेको छ। माइकिङमार्फत जनचेतना फैलाउने र प्रत्यक्ष रूपमा प्रजनन स्थलहरू नष्ट गर्ने यो अभियानले डेंगु नियन्त्रणमा नयाँ आयाम थपेको छ।
काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणलाई आफ्नो प्राथमिकतामा राखेर हरेक शुक्रबार यस्ता अभियानहरू सञ्चालन गर्दै आएको थियो। तर, यो वर्षको ‘वाक एन्ड एक्ट’ मेगा अभियानले डेंगुको जोखिमलाई गम्भीर रूपमा लिएर एकैसाथ सबै वडाहरूमा सञ्चालन गरिएको छ। यो अभियानले स्थानीय समुदाय, स्वयंसेवक र कर्मचारीहरूको सहभागितालाई एकजुट बनाएर डेंगु नियन्त्रणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
काठमाडौं महानगरले आम नागरिकलाई पनि यो अभियानमा सहभागी हुन आह्वान गरेको छ। घर वरपर जमेको पानी हटाउने, फालिएका सामानहरू व्यवस्थापन गर्ने र लामखुट्टेको टोकाइबाट जोगिन जाली प्रयोग गर्ने जस्ता साना तर प्रभावकारी कदमहरूले डेंगु नियन्त्रणमा ठूलो योगदान पुर्याउन सक्छ।
ऋषि प्रसाद भुसालको नेतृत्व र काठमाडौं महानगरको यो अभूतपूर्व पहलले डेंगुको सङ्कटलाई परास्त गर्न नयाँ आशा र उत्साह प्रदान गरेको छ। यो अभियानले काठमाडौंलाई स्वस्थ, सुरक्षित र डेंगुमुक्त शहर बनाउने दिशामा एक क्रान्तिकारी कदम सावित हुने विश्वास गरिएको छ !
