२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार: अब...

भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार: अब अनलाइनबाट टिकट, मेसिनबाटै रिपोर्ट प्राप्त गर्न सकिने

भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार: अब अनलाइनबाट टिकट, मेसिनबाटै रिपोर्ट प्राप्त गर्न सकिने

सहर्ष न्युज
बुधवार, आषाढ १७ २०८३
सहर्ष न्युज
बुधवार, आषाढ १७ २०८३
  • दैनिक बढ्दो बिरामीको चाप व्यवस्थापन गर्न नयाँ प्रविधि लागू, अस्पताललाई क्रमशः ‘काउन्टरलेस’ बनाउने तयारी

    चितवन। दैनिक करिब तीन हजार बिरामीको चाप व्यवस्थापन गर्न कठिन भइरहेका बेला भरतपुर अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले डिजिटल सेवा विस्तार गरेको छ। अब बिरामीले अनलाइनमार्फत टिकट काट्न र अस्पतालमा जडान गरिएका मेसिनबाट परीक्षण रिपोर्ट प्राप्त गर्न सक्ने भएका छन्।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार पुरानो स्वचालित मेसिनको मर्मत गरेर थप नयाँ मेसिन जडान गरिएको छ। बुधबारदेखि परीक्षणका रूपमा सेवा सुरु गरिएको हो।

    उनका अनुसार बिरामीले मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, आफ्नो विवरण हेर्न तथा अनलाइनमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसअघि पनि अनलाइन टिकट प्रणाली सञ्चालनमा रहे पनि टिकट प्रिन्ट गर्न अस्पतालमै लाइन बस्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै उक्त समस्या हट्ने अपेक्षा गरिएको छ।

    हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट वितरण हुँदै आएको छ। नयाँ प्रणाली प्रभावकारी बन्दै गएपछि काउन्टरको संख्या क्रमशः घटाउँदै लैजाने योजना रहेको डा. बगालेले बताए।

    “मेरो योजना अस्पताललाई काउन्टरलेस बनाउने हो। प्रविधि प्रयोग गर्न नसक्ने सेवाग्राहीका लागि भने एक–दुई वटा काउन्टर सञ्चालनमा रहनेछन्,” उनले भने।

    अस्पतालले भविष्यमा मोबाइल एपमार्फत पनि सबै सेवा उपलब्ध गराउने तयारी गरेको छ। साथै, स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र म्यादसमेत हेर्न सकिने सुविधा पनि थपिएको छ।

    रक्त परीक्षणलगायत विभिन्न प्रयोगशाला परीक्षणको रिपोर्ट पनि अब मेसिनबाटै प्राप्त गर्न सकिनेछ। परीक्षणपछि दिइने रसिदमा रहेको बारकोड स्क्यान गरेपछि रिपोर्ट मेसिनबाट प्रिन्ट हुने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

    हाल परीक्षणका रूपमा मेसिन र काउन्टर दुवै माध्यमबाट सेवा सञ्चालनमा रहे पनि आगामी दिनमा डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै काउन्टरको संख्या घटाइने अस्पतालको योजना छ।

    निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि भरतपुर अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। अस्पतालका अनुसार यहाँ आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिने सेवाग्राही छन्। सबैखाले स्वास्थ्य सेवा एउटै स्थानबाट उपलब्ध हुने भएकाले चितवनसहित छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा बिरामी आउने गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend