१ भदौ, काठमाडौं। इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपूलले न्यूक्यासल युनाइटेडका स्विडिस स्ट्राइकर अलेक्जान्डर इसाकलाई लिग इतिहासकै सर्वाधिक महँगो रकममा अनुबन्ध गरेको छ।
लिभरपूलले इसाकका लागि १२५ मिलियन पाउन्ड निश्चित रकम र थप ५ मिलियन पाउन्ड बोनससहित कुल १३० मिलियन पाउन्डको सम्झौता गरेको छ। यो प्रिमियर लिगको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण सम्झौता हो। इसाकले न्यूक्यासलका लागि प्रशिक्षण गर्न अस्वीकार गरेका थिए र लिभरपूलमा आबद्ध हुने विषयमा निकै उत्साहित थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इसाकले लिभरपूलसँग ६ वर्षको सम्झौता गरेका छन्। उनले सोमबार मेडिकल जाँचका लागि लिभरपूल पुग्ने तयारी गरिरहेको बताइएको छ।
यसअघि लिभरपूलको ११० मिलियन पाउन्डको प्रस्ताव न्यूक्यासलले अस्वीकार गरेको थियो। लामो समयको वार्तापछि अन्ततः यो सम्झौता सम्पन्न भएको हो। यो स्थानान्तरणले सन् २०२३ मा चेल्सीले मोइसेस काइसेडोका लागि तिरेको ११५ मिलियन पाउन्डको पुरानो कीर्तिमान तोडेको छ।
नयाँ प्रिमियर लिग सिजनमा हालसम्म लिभरपूलले सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेको छ।
