काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान ब्रुनो फर्नान्डेजले युनाइटेडको जितमा निर्णायक भूमिका खेले।
अघिल्लो खेलमा पेनाल्टी चुकाएका फर्नान्डेजले यो पटक पेनाल्टीमा गोल गर्दै टिमलाई ओल्ड ट्राफोर्डमा रोमाञ्चक जित दिलाए। खेलको निर्णायक क्षण निकै नाटकीय रह्यो। इन्जुरी समयको ९०+८ औँ मिनेटमा अमाद डायलोमाथि भएको फाउलपछि भिएआर रिभ्यूबाट पेनाल्टी प्राप्त भएको थियो। फर्नान्डेजले सहजै उक्त पेनाल्टी गोलमा परिणत गरे।
यसअघि, युनाइटेडले २७ औँ मिनेटमा अग्रता लिएको थियो। कासेमिरोको हेडर पोस्टमा लागेर बर्नलीका जोश कुलिनलाई ठोक्किँदा आत्मघाती गोल भएको थियो। बर्नलीका लायल फोस्टरले दोस्रो हाफको ५५ औँ मिनेटमा बराबरी गोल फर्काए। दुई मिनेटपछि युनाइटेडका ब्रायन म्बेउमोले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए।
बर्नलीका जिनेदिन जिदानले ६६ औँ मिनेटमा बराबरी गोल गरे पनि अन्तिम मिनेटको पेनाल्टीले युनाइटेडले तीन अङ्क सुरक्षित गर्यो। यो जितले निराशाजनक लिग अभियानमा रहेको युनाइटेडलाई केही राहत प्रदान गरेको छ र प्रशिक्षक रुबेन अमोरिममाथिको दबाबलाई अस्थायी रूपमा कम गरेको छ।
यो नतिजापछि म्यानचेस्टर युनाइटेड ३ खेलबाट ४ अङ्कसहित तालिकाको नवौँ स्थानमा रहेको छ।
