पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अष्ट्रेलियासम्म उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि पोखराबाट उडान सुरु गर्ने योजना बनाएको हो। “छेन्दु हुँदै अष्ट्रेलिया उडानबारे अनौपचारिक छलफल भइसकेको छ, प्रक्रिया अगाडि बढाइएको छ,” उनले जानकारी दिए।
यसअघि सिचुवान एयरलाइन्सले सन् २०२३ मा पोखरामा केही चार्टर्ड उडान गरिसकेको छ। फेवा तालमा आयोजना गरिएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’का लागि उक्त एयरलाइन्सले यात्रु ओसारपसार गरेको थियो।
भूटान एयरलाइन्सले पनि माग्यो चार्टर्ड उडान अनुमति
यसैबीच, भूटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पोखराबाट पारो इन्टरनेशनल एयरपोर्टसम्म चार्टर्ड उडानका लागि अनुमति मागेको छ। सेप्टेम्बर २८ र अक्टोबरमा चार दिनका लागि यात्रु चार्टर्ड उडान सञ्चालन गर्न अनुमति मागिएको हो।
यदि चार्टर्ड उडान सफल भएमा, कम्पनीले पोखरा–दिल्ली हुँदै नियमित उडान सुरु गर्ने योजना बनाएको छ। प्राधिकरणका अनुसार ‘फिफ्थ फ्रिडम’ उडान अन्तर्गत पोखराबाट तेस्रो मुलुकसम्मको उडान अनुमति दिन सकिनेछ।
भैरहवामा पनि अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुँदै
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसिया र जजिरा एयरवेजले पुनः उडान सञ्चालन गर्न लागेका छन्। थाई एयर एसियाले अक्टोबर २६ देखि हप्तामा दुईपटक उडान गर्ने योजना बनाएको छ भने जजिरा एयरले पनि 'विन्टर सिजन'मा उडान थाल्ने तयारी गरिरहेको छ।
हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान भैरहवाबाट हुन सकेको छैन। यद्यपि चार्टर्ड उडान भने जारी छ।
विदेशी वायुसेवाका लागि छुट र सहुलियत
सरकारले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई विभिन्न शुल्कमा छुट दिएको छ। यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, र नेभिगेसन सेवामा पूर्ण छुट दिइएको छ भने नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट उपलब्ध गराइएको छ।
यी सहुलियतहरू २०८१ साउन २८ देखि लागू भएका हुन्। सरकारको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा पोखरा र भैरहवा विमानस्थलको व्यावसायिक प्रयोग प्रवर्द्धन’ कार्ययोजना अन्तर्गत यी छुट लागू गरिएको हो।
पोखरा र भैरहवा विमानस्थलमा विदेशी वायुसेवा कम्पनीको आकर्षण बढ्दै गएको देखिन्छ। सिचुवान एयरलाइन्सको अष्ट्रेलिया उडान र भूटान एयरलाइन्सको संभावित सेवा विस्तारले यी दुई अन्तर्राष्ट्रिय विमानस्थललाई अझ चलायमान बनाउने अपेक्षा गरिएको छ।
