काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए, जसलाई बैठकले समर्थन गर्दै पारित गरेको हो ।
विधेयक पारित गर्नुअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकमाथि बैठकमा विस्तृत छलफल भएको थियो। छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले आफ्ना धारणा राख्दै विधेयकका विभिन्न पक्षमा सुझाव प्रस्तुत गरेका थिए।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोतको दिगो उपयोग र व्यवस्थित व्यवस्थापनको उद्देश्यले विधेयक ल्याइएको जानकारी दिए। उनले संविधानमै समावेशी व्यवस्था समेटिएको हुँदा दलितलगायतका समूहको उल्लेख विधेयकमा छुट्टै गर्न आवश्यक नरहेको स्पष्ट गरे। साथै, विधेयकमा उल्लेख भएको बाँध सुरक्षासम्बन्धी प्रावधानलाई पनि थप स्पष्ट गरिएको जानकारी दिए।
