२०८३ भाद्र २८ गते आइतवार

images

कर्णाली बैंक घोटाला प्रकरण : वडाध्यक्ष, चिकित्सक, नेतासहित १०३ जना फरार

कर्णाली बैंक घोटाला प्रकरण : वडाध्यक्ष, चिकित्सक, नेतासहित १०३ जना फरार

सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
  • नेपालगन्ज । नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा भएको ठूलो घोटालासम्बन्धी मुद्दामा बहालवाला वडाध्यक्ष, चिकित्सक, नेतासहित १०३ जना प्रतिवादी फरार रहेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेमार्फत उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा साउन १४ गते मुद्दा दायर गरिएको हो। अदालतका अनुसार १०९ जना प्रतिवादीमध्ये हालसम्म ४ जना पक्राउ परेका छन्, २ जनाको मृत्यु भइसकेको छ भने १०३ जना फरार छन्।

    उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार पक्राउ परेकामध्ये तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

    न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलाशले सो आदेश दिएको हो। अदालतको ४५ पृष्ठ लामो आदेशमा फरार १०३ जना प्रतिवादीलाई पक्राउ गर्न ३५ दिनको म्यादसहित पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

    फरार सूचीमा रहेका केही चर्चित नामहरुः

    • बैंकका पूर्व अध्यक्ष डा. ओमप्रकाश मिश्र

    • पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह, विष्णुप्रसाद कक्षपति

    • नेपालगन्ज शाखाकी पूर्व प्रमुख दीपा थापा

    • डुडुवा गाउँपालिका–६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र

    • वरिष्ठ चिकित्सक डा. उषा राणा शाह

    • राजनीतिक दलका नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा

    • लेखापरीक्षक विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने, शुरेशचन्द्र श्रेष्ठ

    अदालतले जानकारी दिएअनुसार, फरार सूचीमा रहेका राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापा (मृत्युः २०७८ वैशाख ३१) र कर्णाली बैंकका पूर्वकर्मचारी धनन्जय कश्यप (मृत्युः २०८२ वैशाख ५) को नाम पनि सुरुवाती सूचीमा थियो।

    यस बैंक घोटालामा १०९ जनालाई प्रतिवादी बनाई तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ तीन पैसाको बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो। मुद्दा राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट अख्तियारप्राप्त उपनिर्देशक जुगलकिशोर कुशवाहको जाहेरीमा आधारित छ।

    अदालतका अनुसार फरार प्रतिवादीको संख्याअनुसार पक्राउ पुर्जीहरू तयार पार्न केही दिन लाग्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend