सहर्ष न्युज, काठमाडौं । एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी) र इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट (ईमी) को संयुक्त आयोजनामा आयोजनामा 'Building Resilience to Climate Change-Strategies and tools' विषयक पाँच दिने तालिम सुरू भएको छ । आगन्तुक रिसोर्ट धुलिखेलमा सुरू भएको उक्त तालिमको उद्घाटन जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक संजीव बरालले गर्नुभएको थियो ।
जलवायु परिवर्तनको कारणवाट जलस्रोतको विकास तथा व्यवस्थापनमा पर्ने असर तथा यसको प्रभाव कम गरी दिगो पूर्वाधार विकास सम्वन्धमा तालिम दिने उद्देश्यले आयोजना गरेको उक्त तालिम साउन २८ देखि ३२ अर्थात (अगष्ट १२ देखि १६) गतेसम्म चल्ने छ । उक्त तालिममा सहभागीहरुलाई जलवायु परिवर्तनले गर्दा आइपर्ने समस्या तथा त्यसका लागि चाल्नुपर्ने रणनीतिक उपायको विषयमा प्रशिक्षित गराइने भएको छ ।

नेपालमा बाढी पहिरो जस्ता जलजन्य विपदहरु जलबायु परिवर्तनको कारणले बढ्दै गएको साथै सिंचाइ तथा जलस्रोतका संरचनाहरु जोखिममा पर्दै गएकोले यसको प्रभावको आंकलन गरी सोहि अनुसार पूर्वाधारको विकास गर्नुपर्ने महानिर्देशक वरालले बताउनुभयो । जलस्रोत तथा सिंचाइ क्षेत्रमा जलवायु परिवर्तनको जोखिम उच्च रहेकोले प्राविधिकहरुलाई यसको जानकारी हुनुपर्ने उहाँको भनाई थियो । साथै यस्ता तालिम जलवायु परिवर्तनको असर बुझ्न साथै पुर्वाधार विकास गर्दा सो असर न्युनिकरण गर्न सहयोगी हुने पनि महानिर्देशक बरालले जानकारी दिनभयो ।

सो तालिम उद्घाटनको अवसरमा जलस्रोत तथा सिंचाइ बिभागका उप-महानिर्देशक डा. सन्तोष कैनी, खानेपानी सिंचाइ तथा उर्जा मन्त्रालय कोशी प्रदेशका महाशाखा प्रमुख कृष्णप्रसाद राजबंशी, सातै प्रदेशका सिंचाइ मन्त्रालयका प्रतिनिधि, जल तथा उर्जा आयोगका प्रतिनिधिलगायत स्थानीय निकायमा कार्यरत प्रविधिक जनशक्तिहरुको उपस्थिती रहेको थियो ।

