२०८३ श्रावण ११ गते सोमवार

images
  • कृषि
  • धान रोपाई लगभग सकियो, साउन २०...

धान रोपाई लगभग सकियो, साउन २० गतेसम्म ९६.३ प्रतिशत सम्पन्न

धान रोपाई लगभग सकियो, साउन २० गतेसम्म ९६.३ प्रतिशत सम्पन्न

सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
  • सहर्ष न्युज, काठमाडौं । देशभर साउन २० गतेसम्म ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष १४ लाख एक हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ, त्यसमध्ये १३ लाख ४९ हजार ६०१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म ८१.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात वटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सबभन्दा कम कोशी प्रदेशमा भएको छ । त्यहाँ ९५ प्रतिशत मात्र रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमध्ये एक लाख ७४ हजार ५०१ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म सुदूरपश्चिममा ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।

    कृषि मन्त्रालयका तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६२ हजार ६०४ हेक्टर अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ९०.५ प्रतिशत मात्र रोपाइँ भएको थियो । विगतका वर्षमा सबैभन्दा ढिलो रोपाइँ हुने मधेश प्रदेशमा यस पटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।

    मधेश प्रदेशमा यस पटक तीन लाख ८६ हजार १५० हेक्टरमा धान रोपाइँ हुने भनिएको छ । त्यसमध्ये तीन लाख ६८ हजार ३८३ हेक्टर अर्थात् ९५.४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जबकि गत वर्ष यतिबेला त्यहाँ ६०.४ प्रतिशत मात्र रोपाइँ भएको थियो । त्यस्तै बागमती प्रदेशमा एक लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफल रोपाइँ हुने भनिएकोमध्ये ९४.९ प्रतिशत अर्थात् एक लाख आठ हजार ७७२ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने भनिएको छ । त्यसमध्ये ९२ हजार २७० हेक्टर अर्थात् ९६.१ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यतिबेला ८६.६ प्रतिशत रोपाइँ भएको थियो ।

    लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा त्यहाँ रोपाइँ हुन्छ । त्यसमध्ये त्यहाँ तीन लाख एक हजार ४९८ हेक्टरमा अर्थात् ९६.७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । त्यहाँ गत वर्ष यतिबेला ८६.३ प्रतिशत मात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९९.२ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष यतिबेला त्यहाँ ९६.३ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend