२०८३ श्रावण ११ गते सोमवार

images
  • सिंचाई
  • एक हजार ६४ मेगावाट क्षमताको अप्पर...

एक हजार ६४ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत् आयोजना समयमै सम्पन्न हुने

एक हजार ६४ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत् आयोजना समयमै सम्पन्न हुने

सहर्ष न्युज
शुक्रवार, श्रावण १८ २०८१
सहर्ष न्युज
शुक्रवार, श्रावण १८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागिरहेको एक हजार ६४ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत् आयोजनाको निर्माणमा भारत सरकारले लगानी गर्ने कुनै मनसाय प्रकट नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभएको छ ।

    विश्व बैङ्कको सहुलियतपूर्ण कर्जा लगानीमा बनाउन खोजिएको सो आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भने हुन सकेको छैन ।

    पछिल्लो समय सो आयोजना निर्माणमा भारतले चासो राखेको भन्ने चर्चा सुनिए पनि नयाँ सरकार गठन भएपश्चात् कतै पनि त्यस्तो प्रस्ताव नआएको उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो । पछिल्लो समय अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय सरकारी स्वमित्वको सतलज जलविद्युत् निगमले अप्पर अरुणमा पनि लगानी गर्न चाहेको समाचार सार्वजनिक भएको थियो । मन्त्री खड्काले सो आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको विश्व बैङ्कले आफ्नै ढङ्गमा कार्ययोजना बनाएर अगाडि बढिरहेको पाइएको बताउनुभयो ।

    “नयाँ सरकार गठनपश्चात् सो भारत सरकारका कुनै पनि अधिकारी वा निकायले त्यस्तो आशय प्रकट गरेकै छैनन्,” उहाँले भन्नुभयो, “नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पारस्परिक हितका विषयमा कुरा गर्नुभयो तर यससम्बन्धी कुनै कुरा गर्नुभएन ।”

    आयोजनाको मुख्य ऋणदाता विश्व बैङ्कले वित्तीय व्यवस्थापन सम्झौतापूर्व छिमेकी मुलुक चीन र भारतको सहमति खोजेको थियो । विश्व बैङ्कको सो प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको भए पनि भारत सरकारका तर्पmबाट कुनै प्रतिक्रिया आएको छैन । आयोजनाबाट ठुलो परिमाणमा विद्युत् उत्पादन हुने र सो निर्यातसमेत गर्नुपर्ने भएकाले विश्व बैङ्कले पूर्वसहमति खोजेको हो । “विश्व बैङ्कले आफ्नै नियम तथा विधि अनुसार यो काम गरेको हो, अतिरिक्त कुनै कारण छैन,” मन्त्री खड्काले भन्नुभयो ।

    बिहीबार विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेन मन्त्री खड्कासँग शिष्टाचार भेटका लागि मन्त्रालय पुग्नुभएको थियो । भेटमा अप्पर अरुणको विषयमा पनि छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा सिसलेनले अप्पर अरुण जलविद्युत् आयोजना चाँडै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी मन्त्रीलाई गराउनुभएको थियो । छलफलमा विश्व बैङ्कले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो । विश्व बैङ्क नेपालको विकास प्रक्रियालाई थप गति दिन सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराइरहेको र त्यसको उच्चतम प्रयोग र सदुपयोगमा उहाँले जोड दिनुभयो ।

    ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैङ्कको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले विश्व बैङ्कको सहयोगमा बन्न लागेको अप्पर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा विश्व बैङ्कका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैङ्कको सधँै साथ र सहयोग रहने बताउनुभयो ।

    सङ्खुवासभाको भोटखोलामा निर्माण हुने अर्धजलाशययुक्त आयोजनाका लागि एक अर्ब ७५ करोड डलर लागत अनुमान छ । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गर्ने तयारी छ । सन् २०२४ भित्रै निर्माण थालनी गर्ने भनिए पनि वित्तीय व्यवस्थापन हुन भने बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend