२०८३ श्रावण १० गते आइतवार

images
  • विकास
  • सरकारले व्यवसायीको साठी अर्ब भुक्तानी ...

सरकारले व्यवसायीको साठी अर्ब भुक्तानी गरेन, विकराल अवस्था व्यहोर्न बाध्य व्यवसायी

सरकारले व्यवसायीको साठी अर्ब भुक्तानी गरेन, विकराल अवस्था व्यहोर्न बाध्य व्यवसायी

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरेबापतकाे गत आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्ष २०८०/०८१ को ठुलो रकम असार मसान्तमा रकमान्तर र भुक्तानी फुकुवा नभएका कारण निर्माण क्षेत्रमा विकराल अवस्था आएको बताएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएको हो । समग्र निर्माण उद्योगमा अत्यन्त विकराल अवस्था उत्पन्न भएको अवस्थाप्रति महासङ्घको पुन : गम्भीर ध्यानाकर्षण भएको महासङ्घका पदाधिकारीले बताउनुभएको छ ।

    सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन जारी भएपश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब र चालू आयोजनाको निर्माण कार्यमा बजेट अपुग तथा निकास नभएका कारण लामो समय अघिदेखि बाँकी भएको करिब २० अर्ब गरी व्यवसायीको करिब ६० अर्ब रकम भुक्तान हुनुपर्नेमा १५ अर्ब मात्र रकमान्तर भएको उहाँहरूको भनाइ छ ।

    असार मसान्तमा समेत निर्माण व्यवसायीको अरबौँ रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो । निर्माण व्यवसायीको ठुलो रकम भुक्तानी नहुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको उहाँले बताउनुभयो ।

    व्यवसायीलाई समयमा भुक्तानी नदिने हो भने राज्यबाट ठेक्का लगाउने परिपाटी नै गलत भएको नजिर स्थापित हुनु राज्यका लागि नै दुःखद अवस्था भएको महासङ्घले जनाएको छ । राज्यले ठेक्का लगाइसकेपछि, त्यसमा स्रोत सुनिश्चितता गर्ने जिम्मेवारी पनि सरकारको भएका महासङ्घका पदाधिकारीको भनाइ छ ।

    यस वर्ष व्यवसायीको रकम समयमै भुक्तान नभएमा आगामी आर्थिक वर्षका लागि राज्यलाई नै थप आर्थिक दायित्व पर्ने महासङ्घका पदाधिकारीहरूको बुझाइ छ । असार मसान्तसम्म व्यवसायीको रकम भुक्तान हुनेगरी भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि महासङ्घले सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend