काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको अपर त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनामा फसेका कर्मचारीलाई निकाल्न नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक ओर्लिएको छ। मौसम प्रतिकूल भएका कारण अघिल्लो दिन दुई पटकसम्म गरिएको अवतरणको कोसिस असफल भएको थियो, तर आज हेलिकप्टर आयोजना क्षेत्रमा पुग्न सफल भएसँगै त्यहाँको यथार्थ अवस्था र बाढीले पुर्याएको नोक्सानीको जायजा लिने काम अघि बढेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रभावित इलाकामा अलपत्र परेका कर्मचारीको उद्धार र बिजुली सेवा चाँडोभन्दा चाँडो जोड्न सकिने जुनसुकै उपाय अपनाउन काम तीव्र पार्न निर्देशन दिएका छन्।
मन्त्रीको निर्देशन पछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अगुवाइमा उच्चपदस्थ अधिकारीहरूको समूह घटनास्थल पुगेको छ। यस समूहमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख एवं प्राधिकरणका प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणा लगायतका अधिकारी सामेल छन्।
प्राधिकरणका अनुसार यो समूहले स्थलगत अवस्था हेर्ने, उद्धारकार्यमा समन्वय गर्ने र बिजुली संरचना पुनर्निर्माणका लागि आवश्यक प्राविधिक जायजा लिने काम गरिरहेको छ।
यसै बीच बाढीका कारण बिजुलीको संरचनामा क्षति पुगेको नुवाकोटका प्रभावित ठाउँमा अर्को बाटोबाट बिजुली आपूर्ति फर्काउने काम पनि भइरहेको छ। सिन्धुपाल्चोकतर्फको वैकल्पिक लाइनबाट खरानीटार, समुद्रटार, चौगडा, लिखु र पञ्चकन्या क्षेत्रमा बिजुली सेवा पहिल्यै सुचारु गरिसकिएको प्राधिकरणले जनाएको छ।
नुवाकोटका बाँकी प्रभावित ठाउँमा बिजुली फर्काउनका लागि ६६ केभी लाइनलाई ११ केभीमा तानेर सेवा चलाउन सकिने सम्भावना देखिएको छ। यसैअनुरूप चपली–देवीघाट र बालाजु–त्रिशूली गरी दुवै ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारी अघि बढाइएको छ।
प्राधिकरणका प्राविधिक टोलीले आवश्यक तयारी र स्थलगत काम तीव्र पारेको बताएको छ। भएभरका सबै वैकल्पिक उपाय प्रयोग गरेर बाढी प्रभावित क्षेत्रमा बिजुली सेवा यथाशीघ्र फर्काउने प्रयास जारी रहेको प्राधिकरणको भनाइ छ।
