२०८३ श्रावण ११ गते सोमवार

images

भारतले 'आइएसआई' नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकियो

भारतले 'आइएसआई' नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकियो

सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
  • लुम्बिनी । भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।

    "समयावधि नसकिँदै हामीले नवीकरणका लागि ३ महिना अगावै निवेदन दिएका थियौं । । तर भारतले न नवीकरण गरेको छ न कारण नै खुलाएको छ", कपिलवस्तुमा उद्योग रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रौनक अग्रवालले भन्नुभयो, "हाम्रो सबै प्रयासले काम गरेन । अब, सरकारले यसमा पहल गर्न जरुरी छ ।" 

    अग्रवालले नेपाली सिमेन्टको भारतमा राम्रो मार्केट रहेको तर नवीकरण नहुँदा चिन्ता थपिएको बताउनुभयो । आइएसआई नवीकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भैरहेको सम्रान्ट सिमेन्टको निर्यात पनि रोकिएको छ । 

    रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि ठप्प छ । अर्घाखाँचीको गत २०८१ असोज ९ देखि निर्यात रोकिएको हो । अर्घाखाँचीले दुई वर्षमा करिब ५५ करोड रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो ।

    अर्घाखाँची सिमेन्टका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार अहिले नवीकरण अभावमा धमाधम उद्योगहरुको निर्यात रोकिएको छ । नवीकरण गरी सहज वातावरण बनाउन सरकारले तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ छ । 

    विगतका वर्षमा भारतले आइएसआई मार्क नवीकरण गरे पनि यस वर्ष भने अवधि सकिएका कुनै पनि उद्योगहरुको नवीकरण गरेको छैन । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् । तर यी उद्योगको पनि आइएसआई मार्क नवीकरण अवधि केही महिनाभित्रै सकिँदैछ । उद्योगीहरुका अनुसार भारतले यसैगरी नवीकरण नगर्दै जाने हो भने केही समयपछि सबैजसो उद्योगले गर्दै आएको सिमेन्ट निर्यात रोकिनेछ ।

    भारतले गुणस्तर चिन्ह र आयात अनुमती दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ६ लाख र २०८०–८१ मा १ अर्ब ६५ करोड ८६ लाख रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालु वर्षको मङ्सिर मसान्तसम्म ५ महिनाको अवधिमा ४३ करोड ४० लाख रुपियाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । 

    पछिल्लो समय नेपालमा सिमेन्ट खपत कम छ । यस्तोबेला भारतले आइएसआई नवीकरण नगर्दा उद्योगी झन् निरासश बनेका छन् । भारतले केही सिमेन्ट उद्योगलाई २ र केहीलाई १ वर्षका लागि अनुमति दिएको थियो ।

    उद्योगीहरुले सरकारले भारतसँग कूटनीतिक पहल गरेर तत्काल आइएसआई नवीकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपालका चुरेपहाडबाट उत्खनन गरिएको चुनढुङ्गाबाट बनेको सिमेन्ट भारत निर्यात हुँदा यसले उद्योगीसँगै मुलुककै अर्थतन्त्रमा टेवा पुगिरहेको थियो । 

    पछिल्लो समय धमाधम निर्यात रोकिँदा यसले निजी क्षेत्र थप धराशायी हुने चिन्ता उद्योगीको छ । भैरहवा भन्सारका अनुसार बेलहिया हुँदै भारततर्फ निर्यात हुने मुख्य १० वस्तुमा सिमेन्ट र सिमेन्ट क्लिंकर पनि पर्छ । तर पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा विस्तारै निर्यात घटिरहेको छ । 

    भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले विगतमा निर्यात गरिरहेका उद्योगको निर्यात रोकिनु दुःखद भएको बताउँदै यसमा सबैको पहल जरुरी रहेको बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend