२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • निर्यातभन्दा २० अर्ब बढीको पेट्रोलियम आयात,...

निर्यातभन्दा २० अर्ब बढीको पेट्रोलियम आयात, डिजेलमै खर्चियो डेढ खर्बभन्दा बढी

निर्यातभन्दा २० अर्ब बढीको पेट्रोलियम आयात, डिजेलमै खर्चियो डेढ खर्बभन्दा बढी

सहर्ष न्युज
आइतवार, आषाढ १४ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । नेपालबाट वस्तु निर्यात गरेर आर्जन भएको रकमभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा मुलुकले दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा भारतबाट मात्रै दुई खर्ब ९७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

    निर्यात आम्दानीभन्दा करिब २० अर्ब रुपैयाँ बढी इन्धन आयात हुँदा मुलुकको व्यापार घाटा थप चुलिएको छ।

    विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड १७ लाख रुपैयाँ बराबरको १३ लाख १४ हजार ५५१ किलोलिटर डिजेल आयात भएको थियो।

    यस वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले डिजेल आयातको रकम बढे पनि आयात परिमाण भने ४९ हजार ६७३ किलोलिटरले घटेको छ। पश्चिम एसियामा भएको द्वन्द्वका कारण इन्धन महँगिएको तथा विकास निर्माणका गतिविधि सुस्ताउँदा डिजेलको खपत घटेको विश्लेषण गरिएको छ।

    यस्तै, चालु आवको ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको छ। गत वर्षको तुलनामा पेट्रोल आयात परिमाण करिब ४ हजार किलोलिटरले बढेको छ।

    हवाई इन्धनतर्फ १७ अर्ब ४९ करोड ९८ लाख ९४ हजार रुपैयाँ बराबरको एक लाख ९४ हजार ५०० किलोलिटर आयात भएको छ। त्यसैगरी ६५ करोड ५२ लाख ४२ हजार रुपैयाँ बराबरको ६ हजार ७९३ किलोलिटर मटितेल आयात भएको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा कम हो।

    खाना पकाउने एलपी ग्यासको आयात भने घटेको छ। समीक्षा अवधिमा ५२ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपैयाँ बराबरको ४ लाख ७५ हजार ९८० मेट्रिक टन ग्यास आयात भएको छ। गत वर्षको तुलनामा करिब ५ अर्ब रुपैयाँ मूल्य बराबरको ३१ हजार मेट्रिक टन कम ग्यास आयात भएको विभागको तथ्यांकले देखाएको छ।

    पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा एलपी ग्यासको खपत र आयातमा कमी आएको अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend