बुटवल : बुटवल–गोरुसिंगे सडक चार लेन विस्तारका क्रममा ७ हजार १ सय ७५ रूख काटिने भएको छ । वन मन्त्रालयको समन्वयमा निर्माण कम्पनीले रूख कटानको अनुमति पाएको हो । अहिले सडक क्षेत्रमा परेका रूखको मार्किङ अन्तिम भएको छ । रूख कटानपछि सडक निर्माण अघि बढ्ने आयोजनाले जनाएको छ ।
बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ ।
पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिंगे चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ ।
अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रूखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँच भइरहेको छ ।
‘सडक निर्माणका लागि निर्माण कम्पनीसँग १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता भएर काम अघि बढेको छ,’ न्यौपानेले भनिन्, ‘तीन वर्षभित्र काम सक्ने गरी निर्माण गर्न कम्पनीले सामग्री निर्माणस्थलमा व्यवस्थापन गर्नेदेखि अब रूख कटानको काम सुरु भएको छ ।’
रुख कटान र विद्युत्का पोल स्थानान्तरणपछि सडक किनारको एकतर्फबाट निर्माण सुरु हुने गरी परियोजनाले डिजाइन गरेको छ । ‘पहिला सडकको एकातर्फको भागमा मात्र काम हुनेछ,’ उनले भनिन्, ‘त्यसपछि अर्कोतर्फ काम हुने र दुईतर्फ सडक निर्माण भएपछि मात्र बीचको कालोपत्र भत्काएर काम गर्ने गरी हामीले कन्स्ट्रक्सन डिजाइन गरेका छौं ।’
पूर्वपश्चिम राजमार्ग भएर दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणका काम हुने उनले बताइन् ।
आयोजना कार्यालयका अनुसार सडक विस्तारका क्रममा बुटवल–गोरुसिंगे सडक खण्डमा पर्ने रूपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा २ हजार ६ सय १३, कञ्चन गाउँपालिका क्षेत्रमा १ हजार ३ सय २६ रूख काटिनेछन् । त्यस्तै कपिलवस्तुको चार नम्बर र गोरुसिंगे क्षेत्रमा ३ हजार २ सय ३६ रूख काटिने इन्जिनियर न्यौपानेको भनाइ छ ।
बुटवल–चन्द्रौटा खण्डको धेरै स्थान जंगल क्षेत्र हो । रूपन्देहीको तिनाउ पुलपारिको उत्तरी क्षेत्र, सालझन्डीदेखि गोरुसिंगे क्षेत्रको उत्तर र दक्षिण दुवै क्षेत्रमा घना जंगल छ । ठूलो जंगल भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुको बासस्थान छ । सडक विस्तारका क्रममा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरूका लागि पनि सहज आवतजावत गर्ने सडक निर्माण योजना बनेको छ । त्यही अनुसार धेरै जंगल क्षेत्र भएको सालझन्डीदेखि पिपरासम्म र बनगाईदेखि गोरुसिंगे क्षेत्रमा १ सय ४९ वटा कर्ल्भट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् ।
सालझन्डी–पिपरा खण्डमा चार वटा, कोइली–घेरुवा–बनगाई–गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभरपाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले बताएको छ । राजमार्ग स्तरोन्नतिपछि सडक सुरक्षा बढ्नुका साथै यात्राको समय ३० प्रतिशतले घटाउने उद्देश्यका साथ सरकारले सडक विस्तार र ठूला सडकहरूको निर्माण अवधारणा अघि सारेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको भनाइ छ ।
‘अहिले निर्माणको चरणमा रहेको बुटवल–नारायणगढ सडक र बुटवल–चन्द्रौटा सडक त्यही उद्देश्यअन्तर्गतका पूर्वाधारको विकासमा सहयोग पुर्याउने सडक हुन्,’ अर्यालले भने, ‘नेपालका प्रदेश र छिमेकी मुलुकहरूसँगको व्यापारिक साझेदारी एवं यातायातको कनेक्टिभिटी र आर्थिक सम्भाव्यताको ढोका खोल्न निर्माणाधीन सडकहरूले सहयोग गर्नेछन् । तर निर्माणको समयमा हुने ढिलासुस्तीले आयोजनाप्रति नै वितृष्णा बढ्ने गरेको छ ।’
बुटवल–चन्द्रौटा सडक समयमै निर्माण गर्ने, सवारीसाधन र यात्रुलाई सास्ती नहुने विषयमा संवेदनशील बनेर काम गर्न सुरु गर्नुपर्ने अर्यालले जनाए । ठूला आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितका पूर्वाधार विकासका संरचना पनि थपिँदै जाँदा थप आर्थिक सम्भावनाका ढोका पनि खुल्ने उनले बताए ।
