२०८३ श्रावण ११ गते सोमवार

images
  • कृषि
  • चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच...

चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच प्रतिशत बढ्यो

चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच प्रतिशत बढ्यो

सहर्ष न्युज
मंगलवार, पौष १६ २०८१
सहर्ष न्युज
मंगलवार, पौष १६ २०८१
  • म्याग्दी । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष म्याग्दीमा मुख्य खाद्यान्नबालीको रूपमा लिइने धानको उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ । छ वटा स्थानीयतह रहेको म्याग्दीमा रोपिएको धान आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष ०८१/०८२ मा बढेको हो ।

    चालु आर्थिक वर्षमा जिल्लाको तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोप्दा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जि बाँस्तोलाले जानकारी दिनुभयो । यसवर्ष एक हेक्टर जमिनमा सरदर ३ दशमलव ५९ मेट्रिक टन धानको उत्पादकत्व रहेको छ ।

    गत आर्थिक वर्ष २०८०/०८१ मा पनि तीन हजार ८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गर्दा १२ हजार नौ सय ७९ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । गतवर्ष प्रति हेक्टर ३ दशमलव ४१ मेट्रिक टन धानको उत्पादकत्व रहेको थियो ।

    त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा तीन हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा कुल १२ हजार ५९ मेट्रिक टन मात्र धान उत्पादन भएको थियो ।

    यस वर्षमा मौसम अनुकुल, समयमा रोपाइँ हुनु, रोग तथा किराको प्रकोप कम जस्ता कारणले गर्दा गत वर्षको तुलनामा यसवर्ष उत्पादनमा केही वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्रमार्फत जिल्लाको विभिन्न स्थानमा गरिएको धान बालीको ‘क्रप कटिङ’ विधिबाट धान उत्पादनको अवस्थाबारे अध्ययन गरी तथ्याङ्क तयार गरिएको थियो । म्याग्दीमा गौरिया, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय जातका धानहरू रोपिन्छ ।

    म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरूमा धानखेती हुने गरेको छ । धौलागिरि गाउँपालिका अन्तर्गत पर्ने हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा भने अत्यधिक चिसोले धान खेती हुँदैन । कुल २२ सय ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

    त्यसमध्ये १९ हजार चार सय ९८ हेक्टरको जमिनमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बाँकी ११ हजार तीन सय ५८ हेक्टर जमिन बाँझो रहनुका साथै प्लटिङ गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend