२०८३ भाद्र २७ गते शनिवार

images

पोखरामा भोलीदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल बेलुन महोत्सव हुने

पोखरामा भोलीदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल बेलुन महोत्सव हुने

सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
  • पोखरा । अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो ।

    अङ्ग्रेजी नयाँ वर्षको संघारमा हुन लागेको यो महोत्सव नेपालमै पहिलो पटक पोखरामा हुन लागेको हो । महोत्सवमा १५ देशका १७ हट एयर बलुन पोखराको आकाशमा उड्ने छन् । बेलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँग सहकार्य गरी महोत्सव आयोजना गरेको हो ।

    बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडे पोखरा महानगरपालिका वडा नम्बर २४ को लौरुकदेखि चङ्खपुरसम्मको तीन किलोमिटरमा महोत्सव हुने बताउनुहुन्छ । नियमित उडानका बेला नौ हजार फिटसम्म पुग्ने बेलुन महोत्सव अवधिमा भने पाँच हजार फिटसम्ममात्र उडाइनेछन् ।

    माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमालसहित पोखरा उपत्यका अवलोकन गर्दै बेलुनका यात्रीहरूले सूर्योदय र सूर्यास्तका सुन्दर दृश्यसमेत हेर्न पाउने छन् । “पोखराको मनोरम दृश्य, यातायातको पहुँच, पर्यटकीय पूर्वाधार र मौसम अनुकूल भएकाले यहाँ महोत्सव गर्न लागेका हौँ,” वाडेले भन्नुभयो ।

    महोत्सवका संयोजकसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन यसले सघाउने अपेक्षा गर्नुहुन्छ । महोत्सवमा नेपालसहित थाइल्यान्ड, भियतनाम, अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, फ्रान्स, नेदरल्यान्ड्स, कोरिया, जापान, मलेसिया, इटली, अस्ट्रेलियाका र ब्राजिलका पाइलट सहभागी हुने तय छ ।

    महोत्सवमा आयोजक बेलुन नेपालका दुई र विदेशी १५ गरी १७ बेलुन उडाइनेछ । महोत्सवमा अवधिमा हरेक दिन साङ्गीतिक कार्यक्रमका साथमा फुड स्टल र विभिन्न खेल हुँदैछ । राजु लामा, एलिना चौहान, दीपक बज्राचार्य, कुमा सागर, कविता नेपाली लगायतले महोत्सवका सहभागीलाई साङ्गीतिक मनोरञ्जन दिनेछ ।

    अङ्ग्रेजी नयाँ वर्षका दिन पुस १७ गते आतसबाजीसहित बेलुनमै डिजे सङ्गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । राजधानीमा प्रचलित कुमारी नृत्य र बज्रयोगिनी नृत्यसमेत यो अवसरमा देखाइने भएको छ ।

    बलुन नेपाल प्रालिले पोखरामा २०७५ देखि व्यावसायिक रूपमा हट एयर बलुन उडाउँदै आएको छ । महोत्सवलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले पनि सघाएका छन् । एक सातासम्म चल्ने महोत्सवमा पाँच सय व्यावसायिक उडान हुने आयोजकको अपेक्षा छ । बेलुनमा उड्ने नेपालीले प्रतिव्यक्ति ११ हजार, सार्क र चीनका नागरिकले एक सय २० डलर तिर्नुपर्छ । अरू मुलुकका बासिन्दाले भने एक सय ५० डलर तिर्नुपर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend