२०८३ भाद्र २८ गते आइतवार

images

प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन माथि लागेको ठगी आरोपको उजुरी प्रहरीले लिएन, सरकारी वकिलकहाँ जाहेरी

प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन माथि लागेको ठगी आरोपको उजुरी प्रहरीले लिएन, सरकारी वकिलकहाँ जाहेरी

सहर्ष न्युज
आइतवार, मंसिर ३० २०८१
सहर्ष न्युज
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनमाथि ठगीको आरोप लागेको छ।

    उनले ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी परेको छ। सो जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई आवश्यक कारवाही गर्न पत्राचार गरेको छ ।

    भट्टचनले प्रभु म्यानेजमेन्ट नामक कम्पनी खडा गरी सो कम्पनीको नाममा भिन्न सहकारी र बैंकहरुबाट ऋण लिएको र यसरी उठाइएको रकम हिनामिना गरी आफू मूल कम्पनीबाट बाहिरिन खोजेको उजुरीकर्ताले आरोप लगाएका छन्।

    भट्टचनले कम्पनीको कार्याकारी पदमा रहँदा बजारबाट ठूलो ऋण उठाएको र त्यो ऋण तिर्ने दायित्वबाट पन्छिन कम्पनीबाटै बाहिरिने षड्यन्त्र गरेको आरोप लगाइएको छ।

    स्रोतका अनुसार प्रभु म्यानेजमेन्ट नामक कम्पनी खडा गरेपछि भट्टचनले आफू सो कम्पनीको कार्यकारी पदमा रही देशका विभिन्न सहकारी र बैंकबाट ऋण लिएका थिए। यसबाहेक उनले सोही प्रभु म्यानेजमेन्ट अन्तर्गतको कम्पनी प्रभु मनि ट्रान्सफरमार्फत विदेशबाट आएको रकम वितरण गर्ने कार्यका लागि सदस्यता शुल्कको रुपमा देशभरका सहकारीहरुबाट पैसा उठाएका थिए।

    जाहेरीकर्ताका अनुसार प्रभु म्यानेजमेन्ट नामको मूल कम्पनीबाटै प्रभु ग्रुप खडा गरिएको थियो। अहिले प्रभु ग्रुप अन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु क्यापिटल, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, डिसहोम लिमिटेड, प्रभु अटो, नेपाल शिपिङ लाइन्स, प्रभु अनलाइन, प्रभु मनि ट्रान्सफर, भारतमा समेत अर्को प्रभु मनि ट्रान्सफर, जापानमा जापान मनि रेमिट, अमेरिकामा प्रभु ग्रुप इंक, प्रभु ट्राभल्स प्रा.लि., प्रभु हेलिकप्टर प्रा.लि. जस्ता कम्पनीहरु संचालित छन्।

    आरोपअनुसार भट्टचनले सुरुमा प्रभु म्यानेटमेन्ट नामको कम्पनी खडा गरेपछि त्यो कम्पनीको नाममा बैंक र सहकारीबाट ऋण उठाएका थिए। यसरी जम्मा गरिएको रकमबाट उनले अन्य कम्पनीहरु खडा गरेका थिए। अहिले प्रभु ग्रुप अन्तर्गत संचालित कम्पनीहरुमा प्रभु म्यानेजमेन्टले ऋणको रुपमा उठाएको रकम लगानी गरिएको जाहेरीकर्ताको आरोप छ।

    ऋणको रुपमा उठाइएको रकम लगानी गरेर अन्य कम्पनी खडा गरिसकेपछि भट्टचनले अहिले अन्य कम्पनीहरुबाट नाफा लिइरहेका छन् तर कम्पनीको नाममा ऋण लिइएको हुँदा त्यो ऋण तिर्ने दायित्व भने प्रभु म्यानेजमेन्ट कम्पनीकै काँधमा छ।

    अहिले भट्टचन ऋणको भारले थिचिएको कम्पनी प्रभु म्यानेजमेन्टबाट बाहिरिने प्रयास गरिरहेका छन्। त्यसका लागि उनले यो कम्पनीमा आफ्नो नाममा रहेको शेयर कम्पनीकै कर्मचारीका नाममा हस्तान्तरण गरिरहेका छन्।

    यसरी ऋणको भार कर्मचारीको टाउकोमा थोपरेर भट्टचन बाहिरिन लागेपछि प्रभु म्यानेजमेन्टकै शेयरहोल्डरले प्रहरीमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरीकर्ता कुसुम लामाको जाहेरी लिन मानेन।

    प्रहरीले जाहेरी लिन नमानेपछि लामाले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५ (१) अनुसार माथिल्लो निकाय अर्थात जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले जाहेरी लिन नमानेको व्यहोरासहित उजुरी दिइन्।

    लामाको जाहेरी परेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गएको असोज ११ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लामाको जाहेरीको प्रतिलिपिसहित आवश्यक कारवाही गर्न पत्राचार गरेको थियो। तर, प्रहरीले अहिलेसम्म आरोपी देपी प्रकाश भट्टचनलाई सोधपुछका लागि समेत नबोलाएको उजुरीकर्ता लामाले गुनासो गरेकी छिन्।

    भट्टचन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीका सांसद रमेत भएकोले राजनैतिक शक्तिको दुरुपयोग गरेर प्रहरीलाई कारवाही अगाडि बढाउनबाट रोकिएको उनको आरोप छ। भट्टचन अहिले पनि नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद हुन्।

    पछिल्लो समय सहकारी ठगीको विषय चर्चामा रहेका बेला भट्टचनमाथि पनि सहकारी ठगीको आरोप लागेको छ। स्रोतका अनुसार भट्टचनसहित विनोद थकाली, सुवास अमात्य लगायतको नाममा प्रभु कोअपरेटिभ सर्भिस नामको सहकारीबाट १५ करोड रुपैयाँ निकालिएको छ। यो रकम प्रभु ग्रुप अन्तर्गतकै प्रभु हेलिकप्टर प्रा.लि. नामको कम्पनीमा लगानी गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend