२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • लालीगुराँसका पकेट क्षेत्रमा अम्रिसो खेती, लालीगुराँस...

लालीगुराँसका पकेट क्षेत्रमा अम्रिसो खेती, लालीगुराँस कार्यक्रम असफल

लालीगुराँसका पकेट क्षेत्रमा अम्रिसो खेती, लालीगुराँस कार्यक्रम असफल

सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
  • हुप्सेकोट । करिब छ वर्षअगाडि तामझामका साथ हुप्सेकोट गाउँपालिका–५, द्यौबादीमा रोपिएको लालीगुँरास पकेट क्षेत्रमा अहिले अम्रिसो खेती हुन थालेको छ । 

    हुप्सेकोट गाउँपालिकाले तत्कालीन अवस्थामा राष्ट्रिय योजना आयोगबाट रकम निकासा गरेर लालीगुराँस खेती गर्ने अभियानको सुरुवात गरिएको थियो । सो अभियानका तत्कालीन पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री योगेश भट्टराईले थालनी गर्नुभएको थियो । सो अभियान छ वर्षमै तुहिएको वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । 

    हुप्सेकोट गाउँपालिका–५, धौवादीमा करिब ८४ बिघामा लालीगुराँस फूल रोपेर बाह्य तथा आन्तरिक पर्यटकको रोजाइको ठाउँ बनाउने सपना बुनेको पालिका अहिले आफैँ आएर काम गर्न नसक्ने अवस्थामा पुगेको वडाध्यक्ष रानामगरले दुःखेसो गर्नुभयो ।

    नवलपरासी पूर्वमा रहेका चार गाउँपालिकामध्ये हुप्सेकोट गाउँपालिका समृद्धिको हिसाबले निक्कै अगाडि छ । यसका साथसाथै यो गाउँपालिकालाई पर्यटकीय हब बनाउने योजनासमेत अघि सारिएको थियो तर योजना बनाएर काम गर्न नसकिएको र निकै कठिन भएकाले आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढ्ने पालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

    गाउँपालिकाले योजना आयोगसँग ४० लाख र पालिकाबाट ६० लाख रुपियाँ विनियोजन गरेर सुरुवात गरेको लालीगुराँस कार्यक्रमले पालिकालाई समेत फाइदा पुग्न नसकेको र अब गम्भीर भएर अघि बढ्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । 

    पूर्वपश्चिम राजमार्गको दलदलेबाट झन्डै २६ किलोमिटर उत्तरी खण्डमा रहेको यो क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना छन् तर डाँडाभरि लालीगुराँसको जङ्गल बनाएर हजारौँ पर्यटकको मन लोभ्याउने सपनामा भने गाउँपालिकाका लागि अहिले निल्नु न ओकल्नु भएको पालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले आफ्नो पालिकाको यो धौवादी क्षेत्र पर्यटकीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको र यसको विकासलाई तीव्रता दिन सकियो भने मात्र पनि जिल्लाकै उज्यालो पालिका बन्ने पाण्डेले बताउनुभयो । अब पालिकाले दीर्घकालीन योजना बनाएर यो योजनासहितको लक्ष्य निर्धारण गरी अघि बढ्ने सोच गाउँपालिकाले बनाएको छ । समुन्नत हुप्सेकोट सबैको चाहनासँग जोडिएकाले सहयोगका लागि पालिकाले आह्वानसमेत गरेको पालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend