२०८३ भाद्र २९ गते सोमवार

images

सिँचाईको अभाव झेल्दै बागलुङका किसान, ७५ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिँचाइ

सिँचाईको अभाव झेल्दै बागलुङका किसान, ७५ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिँचाइ

सहर्ष न्युज
मंगलवार, मंसिर २५ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर २५ २०८१
  •  

    बागलुङ । बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् । 

    पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन् ।

    चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारअन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको रु १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन् । 

    अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी दिनुभयो । त्यसमध्ये २५ दशमलव ८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उहाँले उल्लेख गर्नुभयो । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको अधिकारीले जानकारी दिनुभयो । 

    गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उहाँको भनाइ छ ।

    निसीखोला गाउँपालिका–१ का तुलबहादुर खत्रीले सिँचाइ राम्रो नहुँदा धान उत्पादनमा कमी आएको सुनाउनुभयो । सिँचाइको पर्याप्त सुविधा नभएको र वर्षा पनि समयमै नहुँदा किसानलाई बर्सेनि खाद्यबाली उत्पादनमा समस्या भएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, “यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन । धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ, खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरिरहेको छ । सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ ।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend