काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिजनको समयमै सिमेन्ट र छडको मूल्य बृद्धि गरेको कारण खोज्न थालेको छ । विभागले सिमेन्ट र छड उद्योगलाई मूल्य बढाउनुको कारण पेश गर्न निर्देशन दिएको छ । उद्योगी तथा सरोकारवालाहरुसंगको छलफल पश्चात विभागले यस्तो निर्देशन दिएको हो ।
सिजनकै बेलामा सिमेन्ट र छडमा मूल्य बढाईएको बारे निर्माण व्यवसायीहरुले गुनासो गरेपछि बिभागले उद्योग र निर्माण व्यवसायीलाई डाकेर आइतबार छलफल गरेको हो । निर्माण व्यवसायीले यस विषयमा पहिलादेखि नै विरोध गर्दै आएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा विभागका महानिर्देशक राजन पौडेलले व्यवसायीहरुलाई एक साता भित्र मूल्य वृद्धि गर्नुको कारण खुलाउन निर्देशन दिएका छन् । किन र के कारणले मूल्य वृद्धि गरियो भन्ने कुरा स्पष्ट रुपमा खुलाउनु पर्ने विभागले उद्योगीलाई निर्देशन दिएको हो ।
एक साता भित्र मूल्य बढाउनुको कारण नखुलाए कानुन अनुसार कारवाही गरिने विभागले प्रष्ट पारेको छ ।
उद्योगीहरुले भने मूल्यबृद्धिलाई समायोजन गरेको बताएका छन् । लोडसेडिङको मारमा उद्योग परेकाले मूल्य समायोजन गरिएको व्यवसायीहरुको छलफलको क्रममा तर्क प्रस्तुत गरेका छन् ।
उद्योगहरुले सिमेन्टमा प्रति बोरा १ सय रुपैयाँले बढाएका छन भने डन्डी पनि १५ रुपैयाँसम्मले बढाईएको छ । त्यस्तै ओपिसि सिमेन्ट प्रति बोरा ७ सय देखि ७ सय ५० रुपैयाँसम्म पुर्याईएको छ भने पिपिसी सिमेन्ट ६ सय देखि ६ सय ५० रुपैयाँसम्म पुर्याइएको छ । त्यस्तै छड पनि प्रति किलो ११० रुपैयाँसम्म पुर्याइएको छ ।
यस्तो मूल्य बृद्धि पछि सिमेन्ट र डण्डी उद्योगीहरुको व्यापक आलोचना भएको छ । मूल्य बृद्धि फिर्ता नलिए आन्दोलन गर्ने समेतको तयारी उपभोक्ताले गरेका छन् । सिजनको समयमै गरिएको मूल्य बृद्धिले अर्थतन्त्र चलायमानमा समेत गम्भीर असर पर्ने निर्माण व्यवसायीहरुले सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउँदै आएका छन् ।
