२०८३ श्रावण ११ गते सोमवार

images

वीरगञ्ज भन्सारले पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने

वीरगञ्ज भन्सारले पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने

सहर्ष न्युज
शनिवार, मंसिर २२ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर २२ २०८१
  • वीरगञ्ज। वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

    पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए । “भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो”, उनले भने, “व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ ।”

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए । “यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ”, उनले भने।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए । उनका अनुसार वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालय छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend