काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनका विवादित उद्योगहरुमा लाइन जोडिने भएको छ । डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने निर्णय गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेकाे सञ्चालक समितिका एक सदस्यले बताए । अब वक्यौता नतिरेर लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने छ ।
यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको उद्योगको बिजुली काटेको थियो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।
यी थिए मन्त्रिपरिषद्का निर्णयहरु
- प्रधानमन्त्री तथा कार्यालय मन्त्रिपरिषद् बैठकका निर्णयहरू डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको वक्यौता रकम (Time of Day मिटरसमेतको आधारमा) महसुल निर्धारण तथा असूलीसम्बन्धी तत्काल प्रचलित कानूनबमोजिम गणना गरी पन्ध्र दिनभित्र असुलउपर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने गराउने निर्णय भएको थियो ।
- मन्त्रपरिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने निर्णय गरेको हो । ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा यसरी विद्युत आपूर्ति बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने भनिएको थियो ।
- नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/९/२४ को निर्णय अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिश चन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट | विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवादसमाधानको लागि गठित जाँचबुझ आयोगले मिति २०८१/१/२३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
