२०८३ श्रावण १० गते आइतवार

images

मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी पठाउन थालियो, तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी पठाउन थालियो, तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सहर्ष न्युज
शनिवार, कार्तिक २४ २०८१
सहर्ष न्युज
शनिवार, कार्तिक २४ २०८१
  • सिन्धुपाल्चोक । निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले आफ्नो ७ किलोमिटर सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालिएको छ । यसरी पानी पठाउन थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ । कात्तिक २२ गतेदेखि मङ्सिर १८ गतेसम्म आयोजनाले सुरुङमा पानी पठाएर परीक्षण गर्न लागेको जानकारी दिएको छ ।

    उक्त आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्ड, स्टप लग, सुरुङ लगायतका अन्य हेडर्वक्सका संरचनाहरूको प्राविधिक परीक्षण गर्ने कार्य थालिएको छ । आयोजनाको जलाशय, डिस्याण्डर तथा सुरुङमा पानी भर्ने कार्य गर्न लागिएकोले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।सो आयोजनाले भोटेकोशी गाउँपालिका–१,२ र ५, बाह्रबिसे नगरपालिका–३,५,६,७ र ८ नम्बर वडाको नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

    भोटेकोशी नदी, सुनकोशी नदी स्थित तटीय क्षेत्र नयाँ पुल, सखुवा, सानो सखुवा, बोर्डरल्याण्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खाग्दल, खुर्सानीबारी, बाह्रबिसे बजार, राम्चेबजार, पेरिसडाँडा, जुरे, डया्मसाइड क्षेत्रका नदी किनारामा बसोबास गर्ने मानिसहरूलाई आयोजनाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सुरुङमा एकै पटक ठुलो परिणाममा पानी पठाउनु पर्ने, नदीको पानी छेक्ने र छोड्नु पर्ने लगायतका काम गर्नु पर्ने भएकाले भोटेकोशी र सुनकोशी नदीको पानीको सतह, वाहव घटबढ हुन सक्ने भएकोले नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारामा कुनै पनि कार्यहरू नगर्न र नगराउन आयोजनाले आग्रह गरेको छ । पानी पठाउने र रोक्ने कार्यका कारण नदीको वाहव घटबढ भई कुनै पनि अप्रिय घटना हुन गएमा आयोजना तथा कम्पनी जिम्मेवार नहुने समेत उक्त आयोजनाले जनाएको छ ।

    सरकारको अनुमति अनुसार सुरुङमा पानी पठाएर प्राविधिक परीक्षण गरिन थालिएकोले नदी किनारामा कुनै पनि काम नगर्न आयोजनाका लेखा तथा प्रशासन प्रमुख अरुण न्यौपानेले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको अनुमतिमा परीक्षण गर्न थालिएको र त्यसअवधिभरका लागि नदी आसपासमा कुनै पनि माथि उल्लेखित कार्य नगर्न उहाँले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आग्रह गरेका छन् ।

    सो आयोजना २०७० सालबाट निर्माणाधीन अवस्थामा छ । चार वर्षभित्र आयोजना निर्माण सम्पन्न भई उत्पादन थाल्नु पर्ने भए पनि हालसम्म निर्माण कार्य समेत पूरा हुन सकेको छैन । तर बाढी पहिरो, कोभिड महामारी, भूकम्प, राजनीतिक हस्तक्षेप, आन्तरिक व्यवस्थापन कमजोरी लगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । आयोजना निर्माण सम्पन्नका लागि १२ अर्ब २८ करोड अनुमान गरिएकोमा ढिलाइ हुँदा २० अर्ब लागत नाघेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend