२०८३ भाद्र २८ गते आइतवार

images

उत्तर कोरियाद्वारा हालसम्मकै लामो उडान गर्ने क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाद्वारा हालसम्मकै लामो उडान गर्ने क्षेप्यास्त्र प्रक्षेपण

सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
  • काठमाडौं । उत्तर कोरियाले प्रक्षेपण गरेको एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र उस्को पूर्वी क्षेत्रको समुद्रमा खस्नुअघि ८६ मिनेटसम्म उडान गरेको दक्षिण कोरिया र जापानले बताएका छन्।

    अभिलेख राखिएकामध्ये हालसम्मकै त्यो लामो उडान गर्ने क्षेप्यास्त्र भएको बताइएको छ।

    केही तेर्सो पारेर प्रक्षेपण गरिएको उक्त अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र सात हजार किलोमिटरसम्मको उचाइमा पुगेको थियो।

    यसको अर्थ त्यसलाई क्षितिजसँग समानान्तर पारेर प्रक्षेपण गरिएको भए उक्त क्षेप्यास्त्र अझ टाढासम्म पुग्न सक्थ्यो।

    प्रतिबन्ध उल्लङ्घन

    बिहीवारको प्रक्षेपणले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गरेको छ।

    दुई कोरियाबीच सम्बन्ध बिग्रिँदै गइरहेको र प्योङ्गयाङले सउलप्रति आक्रामक अभिव्यक्तिहरू दिने क्रम बढिरहेका बेला पछिल्लो प्रक्षेपणको खबर सार्वजनिक भएको हो।

    नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावको आसपास उत्तर कोरियाले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने तयारी गरिरहेको चेतावनी दक्षिण कोरियाले बुधवार मात्रै दिएको थियो।

    सउलस्थित रक्षा मन्त्रालयले “लामो दूरी र धेरै उचाइसम्म” पुग्ने अस्त्रहरु विकास गर्ने उद्देश्यले यो प्रक्षेपण गरिएको जनाएको छ।

    उत्तर कोरियाका नेता किम जङ अनले प्रक्षेपण गरिएकै दिन नै पारेर दिएका एक दुर्लभ वक्तव्यमा यो प्रक्षेपणले “शत्रुहरूलाई जवाफ दिने हाम्रो इच्छा”लाई प्रतिविम्बित गरेको बताउँदै “उपयुक्त सैन्य कदम” को सङ्ज्ञा दिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    “म यो कुराको पुष्टि गर्छु कि [उत्तर कोरियाले] पारमाणविक शक्तिलाई सुदृढ गर्ने धारणा कहिल्यै परिवर्तन गर्ने छैन,” किमले भनेका छन्।

    संयुक्त राज्य अमेरिकाले बिहीवारको प्रक्षेपणबाट “संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌का कैयौँ प्रस्तावहरू स्पष्ट रूपमा उल्लघङ्न” भएको जनाएको छ।

    “आफ्ना नागरिकको भलाइका काम छोडेर उत्तर कोरियाले व्यापक विध्वंस निम्त्याउने अस्त्र निर्माण तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई प्राथमिकता दिने क्रम जारी राखेको देखिन्छ,” ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्‌का प्रवक्ता सन साभेटले एउटा वक्तव्यमा भनेका छन्।

    दक्षिण कोरियाले पछिल्लो प्रक्षेपणको जवाफ स्वरूप उत्तर कोरियाविरुद्ध ताजा प्रतिबन्धहरू लगाउने बताएको छ।

    भारवहन क्षमता बढाउने

    यसअघि प्योङ्गयाङले लामो समयदेखि कायम कडा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको अवज्ञा गर्दै सन् २०२३ को डिसेम्बरमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

    उक्त क्षेप्यास्त्रले ७३ मिनेट लामो यात्राको क्रममा करिब एक हजार किलोमिटर दूरी तय गरेको थियो ।

    क्षेप्यास्त्रले बोक्ने भारको क्षमता बढाउने पछिल्लो प्रक्षेपणको लक्ष्य रहेको उत्तर कोरिया विज्ञहरूको विश्वास छ ।

    युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजस्थित सहायक प्राध्यापक किम डङ्ग-युप प्योङ्गयाङले “ठूलो र भारी युद्धशीर्ष बोकेर पनि अमेरिकी मुख्य भूभागसम्म मार हान्न सक्ने अथवा धेरै युद्धशीर्षहरू बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास गरिरहेको” बताउँछन् ।

    उत्तर कोरियाको छिमेकी जापानले बिहीवारको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी गरेको जनाएको छ ।

    दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरूले उक्त प्रक्षेपणपछि भेटघाट गरेको र “कडा तथा विभिन्न कदम चाल्न सहमति गरेको” दक्षिण कोरियाली सेनाले एउटा वक्तव्यमार्फत्‌ जनाएको छ ।

    “उत्तर कोरियाली बलिस्टिक क्षेप्यास्त्रबारे अमेरिकी र जापानी अधिकारीहरूलाई निकट रहेर जानकारी गराएको हाम्रो सेना पूर्ण तयारी अवस्थामा छ,” वक्तव्यमा भनिएको छ।

    युक्रेनविरुद्धको युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सघाउन उत्तर कोरियाले फौजहरू पठाइरहेको भन्ने दक्षिण कोरिया र अमेरिकाको आरोपबीच बिहीवारको प्रक्षेपण गरिएको छ।

    पेन्टागनको अनुमान अनुसार पूर्वी रुसमा तालिमका लागि दश हजार उत्तर कोरियाली सैनिकहरू परिचालित भएका छन्।

    यसै साता अमेरिकाले जनाएअनुसार “सानो सङ्ख्या”मा चाहिँ रुसको कुर्स्क क्षेत्रमा परिचालित भएका छन् भने अरू हजारौँ त्यसतर्फ जान लागेका छन्।

    उत्तर कोरियाली फौजहरूको आरोपित उपस्थितिले पुटिन र किमबीच बढ्दो निकटतालाई लिएर चिन्ताहरू बढेका छन्।

    प्योङ्गयाङ र मस्कोले ती आरोपको न त खण्डन गरेका छन्, न त तिनलाई अस्वीकार नै गरेको समाचार बीबीसीले लेखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend