२०८३ श्रावण ११ गते सोमवार

images

दुई उद्योगले तिरे पहिलो किस्ता बक्यौता, प्राधिकरणले जोड्योको काटेको बिजुलीको लाइन

दुई उद्योगले तिरे पहिलो किस्ता बक्यौता, प्राधिकरणले जोड्योको काटेको बिजुलीको लाइन

सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुलको पहिलो किस्ता बुझाएपछि दुई उद्योगको लाइन जोडेको छ । प्राधिकरणले बिहीबार डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ मध्ये ३४ उद्योगको लाइन काटेको थियो ।

    प्राधिकरणले दिएको अन्तिम दिन (बिहीवार) सम्म पनि उद्योगीले बक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले लाइन काट्न सुरु गरेकोमा शुक्रबार पहिलो किस्ता बुझाएपछि जीबी टेक्स्टाइल र जीबी टेकटाइलको लाइन जोडेको हो । जीबी टेकटाइलले ३५ लाख ३७ हजार र जीबी टेकटाइल १४ लाख १२ हजार रुपैयाँ बक्यौता बुझाएपछि लाइन जोडिएको हो ।

    प्राधिकरणले बिहीबार साँझदेखि नै लाइन काट्न सुरु गरेको हो । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । पछिल्लोपटक असोज २४ गते फूलापतीका दिन १५ दिनको म्याद दिएर प्राधिकरणले बक्यौता रहेका ४९ वटा उद्योगको नाम सार्वजनिक गरेको थियो । उक्त सूचनापश्चात् किस्ताबन्दीमा तिर्न तयार भएर किस्ताबन्दीको सुविधा लिएका ६ उद्योग लाइन काटिनबाट जोगिए ।

    यसैगरी ७ वटा उद्योगले अदालतबाट स्टे अर्डर लिएकाले ती पनि लाइन काटिनबाट जोगिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पहिले नै अदालतबाट स्टे अर्डर लिएकाले प्राधिकरणले ती उद्योगको लाइन नकाटेको हो ।

    यसैगरी दुई सरकारी उद्योग टौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको पनि बिजुली काटिएको छैन । सरकारी स्वामित्वका भएकाले हिसाब मिलानका लागि प्राधिकरणले सरकारसँगै समन्वयका लागि प्रयास गर्ने भएको प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङले जनाएका छन् ।

    लोडसेडिङको समयमा उद्योगहरूमा जोडिएको डेडिकेटेड तथा ट्रंकलाइन बापतको बिजुली महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटन थालेको हो ।

    बिहीवार साँझदेखि प्राधिकरणले लाइन काट्न सुरु गरेको थियो ।  यसअघि गत असारमा महसुल नबुझाएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोडिदिन ठाडो आदेश दिएका थिए ।

    प्राधिकरणले असोज २४ गते फूलपातीका दिन सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो । तर, बिहीबारसम्म पनि महसुल भुक्तानी नभएपछि प्राधिकरणले लाइन काटेको हो ।

    लाइन काट्नुअघि बिहीबार दिउँसो प्राधिकरण सञ्चालक समिति बैठक बसेको थियो । सरकारले लिखित आदेश दिएमा बोर्ड बैठकबाट पारित गराएर लाइन नकाट्न सकिने कुलमानको भनाइ पछि बैठक अनिर्णीत हुँदै टुंगिएको थियो । बोर्ड बैठकबाट कुनै निर्णय नभएपछि प्रबन्ध निर्देशक घिसिङले उद्योगीहरूलाई बोलाएर बक्यौता तिर्न ताकेता गरेका थिए । जबाफमा उद्योगीहरूले टिओडी मिटरको प्रमाण माग्दै पुरानै अडान दोहोर्याए । कुलमानले काटिसकेको बिल सच्याउन नसकिने र यसअघि लाइन जोड्दा नै ९० दिनमा नतिरे लाइन काट्ने निर्णय भइसकेकाले पैसा नतिरे लाइन काट्ने चेतावनी दिए ।

    कुलमानले किस्तामा तिर्ने सुविधा भएकाले किस्ता तिर्न भन्दै ताकेता गरे भने उद्योगीहरूले प्रमाण दिएमा किस्तामा नभई एकमुष्ट रकम तिर्न तयार रहेको बताए । यसरी एकै दिन प्राधिकरण बोर्ड बैठक र प्राधिकरण–उद्योगीको बैठक बसे पनि दुवै बैठकमा कुनै सहमति र निर्णय हुन सकेन । यस्तै, बिहीबार पैसा नतिरे शुक्रबार मात्रै लाइन काट्ने तयारीमा रहेका कुलमानले सरकारले कारबाहीको तयारी गरेको सूचनापछि बिहीबार राति नै लाइन काटिदिएका हुन् ।

    उद्योगीहरूले डेडिकेटेड फिडर सुविधा लिएबापत ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँमध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाए पनि ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ तिरेका छैनन् । यस्तै, ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरूले १८ अर्ब ६२ करोड ८७ लाख ३४ हजार ४८८ तिर्नुपर्नेमा १३ अर्ब १० करोड ३ लाख ३५ हजार २०० रुपैयाँ तिरे पनि ६ अर्ब ७२ करोड ३३ लाख ४५ हजार ९९० रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend