काठमाडौं । पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको विषयमा छानविन भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थप कारवाहीको तयारीको कसरत पनि भइरहेको छ । प्राप्त समाचार अनुसार रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनलाई अनुसन्धान हुने भएको छ ।
जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।
‘अदालत स्रोतका अनुसार ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको हो ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
त्यसैगरी सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो । बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको छ ।
‘सहकारी ठगी, संगठित अपराधमा अनुसनधान भइरहेको लामिछानेलाई अब सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।
आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएपछि लामिछाने बिहीबार इजलासमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।
पहिलो पटक पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।
यसरी हेर्दा रबि लामिछानेलाई अझै केही दिन हिरासतमा राखिन सक्ने अनुमान लगाइएको छ ।
