२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा असार...

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

सहर्ष न्युज
मंगलवार, जेठ २६ २०८३
सहर्ष न्युज
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा हुने भएको छ।

    “नेतृत्वमा नारी : समृद्धिमा सहकारी” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा आबद्ध महिला किसान तथा महिला सहकारीकर्मीहरूको योगदानलाई उजागर गर्दै महिला नेतृत्व, उद्यमशीलता र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

    महासंघका महाप्रबन्धक डा. बाबु काजी थापाका अनुसार सम्मेलनको उद्देश्य सहकारी क्षेत्रमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्नु, महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणमा टेवा पुर्‍याउनु तथा नेतृत्व तहमा महिलाको सहभागिता बढाउनु हो। सम्मेलनले विश्वका विभिन्न देशका सहकारी क्षेत्रका सफल अभ्यासहरूको आदानप्रदानमार्फत नवीन सोच र रणनीति विकास गर्न तथा महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहललाई समेत प्रोत्साहन गर्नेछ।

    संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठाउनेछ। नेपालमा ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिला सदस्य आबद्ध रहेको तथा कृषि क्षेत्रमा ग्रामीण महिलाको उल्लेख्य सहभागिता रहेको तथ्यलाई सम्मेलनले थप उजागर गर्ने अपेक्षा गरिएको छ।

    सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारी अभियन्ता, नीति निर्माता, सरकारी प्रतिनिधि, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ। कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनासम्बन्धी विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ। साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमण पनि समावेश गरिएको छ।

    सम्मेलनमा सहभागिताका लागि गुगल फारममार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ भने प्रति सहभागी पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको महासंघले जनाएको छ। सीमित सिट रहेकाले इच्छुक महिला सहकारीकर्मीलाई समयमै दर्ता गर्न आग्रह गरिएको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहनेछन्। विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघ, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाहरूले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नेछन्।

    सम्मेलनको समापनमा ‘काठमाडौं घोषणा–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा सहकारी क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend