कपिलवस्तु । ललितपुरको पाटनढोकामा मुख्य कार्यालय तथा कपिलबस्तुको बुद्धभूमीमा कोल्ड स्टोर रहेको एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले केही सञ्चार माध्यममा आएको आफ्नो कम्पनीसँग सम्बन्धित समाचारको खण्डन गरेको छ । कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमार्फत कम्पनीले नेपाल सरकारको नियम कानून अनुसार सबै प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा कम्पनीले कोल्ड स्टोरेजको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धमा सम्बन्धित निकायबाट २०७८/६/२५ मा स्वीकृति प्राप्त गरेको उल्लेख छ ।
यसका साथै, भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि विगत ७ महिनामा कम्पनीले कुनै पनि प्याजको आयात र वितरण नगरेको पनि प्रष्ट पारेको छ ।
एग्रीवस्तुले यस विषयमा प्रकाशित समाचार भ्रामक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कपोलकल्पित यस्ता समाचारहरूप्रति खेद व्यक्त गर्दै कानुनी उपचार खोज्ने पनि जनाएको छ । कम्पनीले स्थानीय सञ्चारकर्मी, प्रशासन र प्रहरीको पनि मानमर्दन गरिएको प्रति विज्ञप्तीमार्फत दुःख व्यक्त गरेको छ ।
एग्रीवस्तुले प्रेस विज्ञप्तिमार्फत आफ्नो व्यावसायिक गतिविधिहरू कानून सम्मत रहेको र गलत समाचार प्रकाशन गर्नेहरूविरुद्ध कडा कदम चाल्ने संकेत गरेको छ ।
एग्रीवस्तुद्वारा जारी खण्डनयुक्त विज्ञप्ति

