दार्चुला: दार्चुलाका दुई हजार १६६ जनाले यस वर्ष यार्चागुम्बा सङ्कलन गरेका छन्। हिमाली भेगका स्थानीयका लागि यार्चागुम्बा आम्दानीको मुख्य स्रोत भएकाले यसबाट वर्षभरिको घरखर्च, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनको खर्च जुटाउने गरिन्छ।
हिउँदमा बाक्लो हिमपात भएको पाटन क्षेत्रमा हिउँ पग्लिन थालेपछि वैशाख दोस्रो सातादेखि स्थानीयवासी यार्चागुम्बा सङ्कलनका लागि लेकतर्फ गएका थिए। अहिले अधिकांश सङ्कलक घर फर्किने तयारीमा छन्।
नौगाड गाउँपालिकाका स्थानीय तथा यार्चागुम्बा सङ्कलक नरेन्द्रबहादुर बमका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष यार्चागुम्बाको उत्पादन घटेको छ। उहाँका अनुसार यार्चागुम्बा पाइने क्षेत्रमा सेतो गुराँस (चिमल) को अत्यधिक दोहन भइरहेकाले यसको उत्पादनमा प्रत्यक्ष असर परेको छ।
“चिमल यार्चागुम्बा उत्पादनको प्रमुख आधार मानिन्छ। यसको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ,” बमले भन्नुभयो।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी अरुण चौधरीका अनुसार यस वर्ष करिब आठ क्विन्टल यार्चागुम्बा सङ्कलन हुने लक्ष्य राखिएको छ। हालसम्म ४१ दशमलव ७५५ किलोग्राम यार्चागुम्बा निकासी भइसकेको छ भने त्यसबाट १२ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
दार्चुलाका लोलु, अपिफेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, नाम्पालगायतका पाटन क्षेत्र यार्चागुम्बाका प्रमुख सङ्कलनस्थल हुन्।
हिमाली जिल्लाको अर्थतन्त्रमा यार्चागुम्बाको विशेष महत्व रहेको छ। स्थानीयका लागि यो केवल बहुमूल्य जडीबुटी मात्र नभई परिवारको आर्थिक आधार र जीविकोपार्जनको मुख्य स्रोतसमेत बनेको छ।
