बाँकी रकम तत्काल दिन निजी अस्पतालको माग
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले देशभरका ३६४ अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि लामो समयदेखि रोकिएको दाबी रकमको एक हिस्सा स्वास्थ्य संस्थाहरूलाई वितरण गरिएको बोर्डले जनाएको छ।
बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित र समानुपातिक आधारमा देशभरका स्वास्थ्य संस्थामा वितरण गरिएको हो। उनले प्राथमिकताका आधारमा रकम भुक्तानी गरिएको जानकारी दिँदै यसबाट स्वास्थ्य सेवा प्रवाहमा परेको आर्थिक दबाब केही हदसम्म कम हुने विश्वास व्यक्त गरिन्।
स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन बाँकी दाबी रकम व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको पनि प्रजापतिले बताइन्। लामो समयदेखि दाबी रकम भुक्तानी नहुँदा सरकारी, सामुदायिक तथा निजी अस्पतालहरू आर्थिक समस्यामा परेका थिए।
भुक्तानीमा भएको ढिलाइका कारण कतिपय स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यक्रम नै बन्द गर्न सक्ने चेतावनीसमेत दिएका थिए। अस्पतालहरूले सेवा प्रदान गरेबापतको रकम नपाउँदा सञ्चालन खर्च व्यवस्थापन गर्न कठिन भएको गुनासो गर्दै आएका थिए।
यसैबीच निजी मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले बाँकी दाबी रकम पनि यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
उनले लामो समयसम्म भुक्तानी नपाउँदा निजी स्वास्थ्य संस्थाहरू गम्भीर आर्थिक संकटमा परेको दाबी गर्दै निजी क्षेत्रमा स्थगित गरिएको बिमा कार्यक्रमअन्तर्गतको बाँकी रकम तत्काल निकासा गर्नुपर्ने बताए।
कार्कीका अनुसार दाबी रकम नपाउँदा निजी अस्पतालहरूले औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न नसकेको अवस्था सिर्जना भएको छ। यसले स्वास्थ्य सेवा प्रणालीमा थप चुनौती उत्पन्न गरिरहेको उनको भनाइ छ।
स्वास्थ्य बिमा बोर्डले हाल गरिएको भुक्तानीले तत्कालीन दबाब कम गरे पनि स्वास्थ्य संस्थाहरूले भने बाँकी दाबी रकम छिटो उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
