उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा शनिबार बिहान करिब ९ बजे बा.२ ख ६४३८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा बर्दिबास नगरपालिकाका ६५ वर्षीय शिक्षक बिमलेस दत्तको मृत्यु भएको स्थानीय चन्द्रकला ढकालले जानकारी दिएकी छन्।

ट्राफिक प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका यात्रुहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
