काठमाडौँ । नेपाली काङ्ग्रेसका सचेतक निस्कल राईले इलामको अर्थतन्त्र र जनजीविकासँग प्रत्यक्ष रूपमा जोडिएको चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराउनुभएको छ।
संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले निर्यातमा देखिएका अवरोध, बजार व्यवस्थापनको अभाव तथा सरकारी बेवास्ताका कारण चिया उद्योग बन्द हुने अवस्थातर्फ उन्मुख भएको बताउनुभयो।
इलामका अधिकांश नागरिकको जीविकोपार्जनको प्रमुख आधार चिया खेती र उद्योग भए पनि सरकारले यस क्षेत्रका समस्या समाधानमा आवश्यक पहल नगरेको उहाँको आरोप छ। चिया किसान र व्यवसायीले लामो समयदेखि भोग्दै आएका समस्याका विषयमा आफूले संसद् र सरकारको उच्च तहमा पटक–पटक आवाज उठाए पनि प्रभावकारी सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो।
सांसद राईका अनुसार नेपाली चियाको प्रमुख निर्यात बजार भारतको पश्चिम बङ्गाल सरकारले गुणस्तर परीक्षणको नाममा अनावश्यक अवरोध सिर्जना गरिरहेको छ। पानीट्याङ्की नाकामा नेपाली चिया बोकेका कन्टेनरहरू १५ दिनसम्म रोकिँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उहाँले बताउनुभयो।
“परीक्षणका नाममा लामो समयसम्म कन्टेनर रोकिँदा निर्यात प्रभावित भएको छ। नेपाली चिया गुणस्तरीय हुँदाहुँदै पनि भारतीय पक्षबाट हुने नकारात्मक रिपोर्टिङ र अवरोध सुनियोजित देखिन्छ,” उहाँले भन्नुभयो।
यो समस्या केवल प्राविधिक नभई कूटनीतिक विषयसमेत भएकाले नेपाल सरकारले भारतसँग सरकार–देखि–सरकार (जीटूजी) तहमा वार्ता गरी दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। परराष्ट्रमन्त्री तथा अन्य उच्च सरकारी अधिकारीहरूको हालैका विदेश भ्रमणमा समेत यो विषय प्राथमिकतामा नपर्नु दुःखद रहेको उहाँले टिप्पणी गर्नुभयो।
सांसद राईले नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, चियालाई प्रमुख नगदे बाली तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रका रूपमा स्वीकार गर्दै यसको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो।
उहाँले चिया व्यवसायीहरू आन्दोलनको तयारीमा रहेको जानकारी दिँदै माइतीघर मण्डलामा धर्ना बस्ने कार्यक्रमसमेत तय भएको बताउनुभयो। समयमै समस्या समाधानतर्फ अग्रसर हुन सरकारलाई आग्रह गर्दै उहाँले आफू चिया किसानको परिवारबाट आएको व्यक्तिका रूपमा यस क्षेत्रको आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
