काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेर घाइते भएका छन्। बिहीबार भएको दुर्घटनामा साम्पाङलाई सामान्य चोटपटक लागेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पार्टीले जनाएको छ।
पार्टीका नेता सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुर्घटनाको खबरले पार्टी पंक्ति र शुभेच्छुकहरूलाई चिन्तित बनाएको भए पनि साम्पाङको अवस्था सामान्य रहेको बताएका छन्।
किरातीका अनुसार अध्यक्ष साम्पाङ अहिले स्वास्थ्य लाभ गरिरहेका छन् र छिट्टै नियमित गतिविधिमा फर्किने अवस्थामा छन्। उनले साम्पाङ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय रहेको समेत उल्लेख गरेका छन्।
"हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर सामान्य चोटपटक मात्र भएकाले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ," किरातीले लेखेका छन्।
उनले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धेरै चिन्ता नगर्न आग्रह गर्दै अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
दुर्घटनाको प्रकृति र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
