काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत २० मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। प्रदेश सरकारले ‘कर्णालीको पानी, जनताको लगानी’ अभियान अन्तर्गत यस्ता आयोजनामा कर्णालीवासीलाई नै सेयर लगानीको अवसर प्रदान गर्ने योजना अघि सारेको छ।
प्रदेशका मुख्यमन्त्री यज्ञराज जोशीले २० मेगावाटसम्म क्षमताका जलविद्युत् आयोजना प्रदेशकै नेतृत्वमा निर्माण गरिने र त्यसमा स्थानीय नागरिकको लगानी सुनिश्चित गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार डोल्पामा निर्माणाधीन जगदुल्ला–९ ‘ए’ लगायतका जलविद्युत् आयोजनामा समेत प्रदेश सरकारको प्रत्यक्ष लगानी रहनेछ।
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् आयोजना तथा मिनी ग्रिड प्रणालीमार्फत प्रदेशभर विद्युत् पहुँच विस्तार गरिने उल्लेख गरिएको छ।
प्रदेश सरकारले ऊर्जा उत्पादनमा आत्मनिर्भरता बढाउने, स्थानीय लगानी आकर्षित गर्ने तथा आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित नयाँ कार्यक्रम अघि सारेको जनाएको छ।
