काठमाडौँ । बैंकबाट कर्जा प्राप्त गर्ने क्रममा शंकास्पद धितो र कागजात प्रयोग गरी वित्तीय अनियमितता गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। उनीमाथि एक संस्थाको नाम प्रयोग गरी बैंकबाट ठूलो रकम कर्जा लिएको तथा त्यसका लागि पेश गरिएका धितो र कागजातबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एन्ड भेटेरिनरी साइन्स’ नामक संस्थामार्फत प्रभु बैंकबाट करिब १३ करोड रुपैयाँ कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त संस्थाको वैधानिकता, परियोजनाको वास्तविकता तथा धितोको विश्वसनीयतामाथि प्रश्न उठेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।
अनुसन्धानका क्रममा लिइएको कर्जामध्ये अधिकांश रकम असुल हुन नसकेको र ऋण खराब कर्जाको सूचीमा परेको देखिएको छ। प्रारम्भिक विवरणअनुसार करिब १२ करोड रुपैयाँ बराबरको दायित्व अझै बाँकी रहेको जनाइएको छ।
सीआईबीले पाण्डेलाई जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा यसअघि नै उच्च अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।
अनुसन्धान अधिकारीहरूले संस्थागत संरचना प्रयोग गरी योजनाबद्ध रूपमा कर्जा लिइएको हुन सक्ने आशंका गरेका छन्। घटनामा बैंकका केही कर्मचारीहरूको समेत सम्भावित संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ पनि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन तथा वित्तीय कारोबारको अध्ययन गरिरहेको जनाएको छ।
