२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • आँप सिजनमै डोजर चलाउन खोजेपछि फलफूल...

आँप सिजनमै डोजर चलाउन खोजेपछि फलफूल व्यवसायी आन्दोलित

आँप सिजनमै डोजर चलाउन खोजेपछि फलफूल व्यवसायी आन्दोलित

सहर्ष न्युज
बुधवार, जेठ २० २०८३
सहर्ष न्युज
बुधवार, जेठ २० २०८३
  • जनकपुरधाम । जनकपुरधाम–७ जिरोमाइलस्थित फलफूल थोक बजार हटाउने प्रयासविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। “हाम्रो व्यवसाय, हाम्रो सम्मान, अमानवीय व्यवहार बन्द गर” भन्ने नारासहित उनीहरूले सुरक्षित, व्यवस्थित र सम्मानजनक स्थानान्तरणको माग गर्दै आन्दोलन थालेका हुन्।

    विगत दुई दशकदेखि सञ्चालनमा रहेको उक्त फलफूल थोक बजारलाई आँपको मुख्य सिजनकै बीचमा बलपूर्वक हटाउन खोजिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्। जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी सङ्घले बजार व्यवस्थापन, उचित स्थानान्तरण तथा दीर्घकालीन संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

    मङ्गलबार जारी विज्ञप्तिमार्फत सङ्घले व्यवसाय, संरचना तथा सम्पत्तिमाथि जबर्जस्ती हस्तक्षेप नगर्न आग्रह गरेको छ। कानुनी प्रक्रिया पूरा गरी पर्याप्त समयसहित औपचारिक सूचना दिन तथा वैकल्पिक बजारस्थलको व्यवस्था नगरी डोजर प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरिएको छ।

    सङ्घले पुनरावेदन अदालत जनकपुरको आदेशलाई सम्मान गर्दै बजार खाली गर्ने निर्णय स्वीकार गरेको जनाएको छ। व्यवसायीहरू स्वस्फूर्त रूपमा स्थानान्तरणको तयारीमा रहेको दाबी गर्दै सङ्घले साउन १५ गतेपछि वैकल्पिक स्थानमा बजार सार्ने योजना बनाएको जानकारी दिएको छ।

    सङ्घका महासचिव भुवदेश्वर पूर्वेका अनुसार फलफूल तथा तरकारी व्यवसायमा प्रत्यक्ष रूपमा करिब २५० जना व्यवसायी आबद्ध छन् भने हजारौँ परिवारको जीविकोपार्जन यस क्षेत्रसँग जोडिएको छ। मुख्य व्यापारिक सिजनमै बजार हटाइए ठूलो आर्थिक क्षति हुने भन्दै उनले स्थानान्तरणका लागि उचित समय र वातावरण आवश्यक रहेको बताए।

    व्यवसायीहरूको भनाइमा राज्यका निकायबाट हालसम्म कुनै वैकल्पिक व्यवस्था गरिएको छैन। त्यसका बाबजुद पनि व्यापार तथा रोजगारी त्यागेर बजार खाली गर्न तयार रहेकाहरूलाई सुरक्षित र व्यवस्थित स्थानान्तरणका लागि आवश्यक सहयोग नपाइएको गुनासो उनीहरूको छ।

    व्यवसायीहरूले जग्गाधनी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन, नगरप्रमुख, सांसद तथा अन्य सरोकारवाला निकायसँग पटक–पटक संवाद गरे पनि कानुनी प्रक्रिया र आवश्यक समयसीमाबारे स्पष्ट जानकारी नदिई डोजर प्रयोग गरेर संरचना भत्काउने प्रयास भएको आरोप लगाएका छन्।

    पत्रकार सम्मेलनमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले फलफूल व्यवसायीलाई अव्यवस्थित ढङ्गले हटाउने कार्य उपयुक्त नभएको बताए। कानुनी प्रक्रियाअनुसार समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले आँपको मुख्य सिजनमा व्यवसायीलाई थप समस्या सिर्जना नगर्न आग्रह गरे।

    यता, बजार रहेको जग्गाका धनी किशोर साहले भने लामो समयदेखि जग्गाको भाडा नपाएको गुनासो गर्दै आएका छन्। उनले बजार खाली गराउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर संरचना हटाउने प्रक्रिया अघि बढाउनुपरेको दाबी गरेका छन्।

    छ कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त बजारमा २२ वटा थोक फलफूल व्यवसायी आबद्ध छन्। दैनिक तीन हजारभन्दा बढी साना व्यापारीको आवतजावत हुने यो बजार धनुषा, महोत्तरीलगायत आसपासका जिल्लाका व्यापारीहरूको प्रमुख थोक केन्द्रका रूपमा परिचित छ।

    सङ्घका अनुसार २० वर्षअघि वार्षिक दुई लाख ५० हजार रुपैयाँ भाडा तिर्ने सहमतिमा बजार सञ्चालन सुरु भएको थियो। पछि भाडा बढ्दै २०७४ सालमा वार्षिक तीन लाख ५० हजार रुपैयाँ पुगेको थियो। जग्गाधनीको मागअनुसार व्यवस्थित रूपमा बजार खाली गर्ने तयारी भइरहेको व्यवसायीहरूको भनाइ छ।

    हाल आँपको मुख्य सिजन चलिरहेका बेला डोजर प्रयोग गरी संरचना हटाउन थालिएपछि विवाद चर्किएको हो। व्यवसायीहरूले तत्काल स्थानान्तरण प्रक्रिया स्थगित गरी उपयुक्त समय, वैकल्पिक स्थान र सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend