२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • जापानको सहयोगमा बिपी राजमार्ग पुनःनिर्माण सुरु,...

जापानको सहयोगमा बिपी राजमार्ग पुनःनिर्माण सुरु, दुई लेनमा स्तरोन्नति गरिने

जापानको सहयोगमा बिपी राजमार्ग पुनःनिर्माण सुरु, दुई लेनमा स्तरोन्नति गरिने

सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं : जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्ड पुनःनिर्माण कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

    नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्।

    सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनःनिर्माण सुरु गरिएको हो।

    २०८१ असोज १२ गतेको बाढीपहिरोका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा करिब ३० किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको थियो। त्यसपछि स्थायी पुनःनिर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको हो।

    पिप्ले–बर्खेखोला सडकखण्ड निर्माणको जिम्मा जापानको सिमिजु कर्पोरेसन ले पाएको छ। जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान सहयोग गर्ने गरी २०८२ कात्तिक १३ गते नेपाल र जापानबीच द्विपक्षीय सम्झौता भएको थियो।

    यसअघि जाइका टोलीले निर्माणपूर्व तयारीस्वरूप क्याम्प स्थापना, अस्थायी सडक निर्माणलगायतका काम सम्पन्न गरिसकेको छ। हाल बिपी राजमार्गका क्षतिग्रस्त चार खण्डमा पुनःनिर्माण कार्य एकसाथ भइरहेको जनाइएको छ।

    सडक डिभिजन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन सडकखण्डमध्ये हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। गत वर्षको बाढीपहिरो र यस वर्षको वर्षाले थप क्षति पुर्‍याएपछि गत मंसिरदेखि स्थायी पुनःनिर्माणको प्रक्रिया अघि बढाइएको हो।

    क्षतिग्रस्त क्षेत्रमा आरसिसी पर्खाल निर्माण, खोलाबाट सुरक्षात्मक संरचना निर्माण तथा सडक चौडा गर्ने काम भइरहेको छ। डालाबेँसी, मङ्गलटार, चारसयबेँसीदेखि नार्केसम्म सडक विस्तारको कामसमेत जारी रहेको कार्यालयले जनाएको छ।

    पुनःनिर्माणसँगै अब बिपी राजमार्गलाई दुई लेनमा स्तरोन्नति गरिने भएको छ। सडकसँगै रहेका पुलहरू पनि विस्तार गरी दुई लेनको बनाइने योजना रहेको इन्जिनियर योगेशले जानकारी दिए। पाँच वटा पुललाई दुई लेनमा रूपान्तरण गर्ने तयारी गरिएको छ।

    सरकारले क्षतिग्रस्त सडक पुनःनिर्माणका लागि कुल आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। जसअन्तर्गत काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड तथा सिन्धुली क्षेत्रका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend