२०८३ श्रावण ११ गते सोमवार

images
  • शिक्षा
  • नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको...

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

सहर्ष न्युज
मंगलवार, आश्विन ८ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । नेपाली इन्जिनियरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो ।

    इञ्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ्ग लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । “यो प्रक्रिया अघि बढाउन ढिला भएको छ”, उहाँले भन्नुभयो, “तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ ।”

    कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ्ग लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले इन्जिनियरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनुभयो ।

    त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो । उक्त एकडमा आबद्ध राष्ट्रहरूका इञ्जिनियरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो ।

    काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताउनुभयो । यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आशावादी बनाएको उहाँले उल्लेख गर्नुभयो । यो प्रक्रियाको थालनीले नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend