२०८३ श्रावण १२ गते मंगलवार

images

जापानमा नेपाली श्रमिक औपचारिक रुपमै जान पाउने, पठाउने कार्य सुरु गरिदै

जापानमा नेपाली श्रमिक औपचारिक रुपमै जान पाउने, पठाउने कार्य सुरु गरिदै

सहर्ष न्युज
शनिवार, आश्विन ५ २०८१
सहर्ष न्युज
शनिवार, आश्विन ५ २०८१
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य अघि बढ्ने बताएका छन् । जापानको टोकियोमा नेपाल–जापान रोजगार सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भण्डारीले निकट भविष्यमा जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य अघि बढाईने बताएका हुन् ।

    नेपाली दूतावास जापान र जापान एशोसिएसन फर दि इम्प्लोइमेन्ट अफ फरेन नेशनलले आयोजना गरेको सम्मेलनमा मन्त्री भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै जापान नेपालीहरुको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

    मन्त्री भण्डारीले भने, ‘नेपाल र जापान सरकारबीच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको र निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने छ ।’

    मन्त्री भण्डारीसँग जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी दुई पक्षीय रोजगारी प्रवद्र्धनका विषयमा छलफल गरेका छन् ।

    जापानमा दक्ष नेपाली कामदारका लागि राम्रो अवसर रहेकोे छ । श्रम मन्त्रालय स्रोतका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने चर्चा लामो समयदेखि शुरु भएपनि प्रक्रिया भने अझैसम्म शुरु भएको छैन ।

    सन् २०१९ मा एसएसडब्लु नीति लिएको जापानले नेपालसहित फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, चीन, कम्बोडिया, मंगोलिया, थाइल्याण्ड र भियतनामलगायतका देशबाट कामदार लगेको छ । तर सरकारीस्तरबाट कामदार पठाउने श्रम मन्त्रालयको अडान असफल हुँदा जापानको आकर्षक तलबको रोजगारीबाट बञ्चित नेपाली युवाहरु युद्धग्रस्त रुस, युक्रेन र इजरायलसहित न्यून तलब हुने खाडी मुलुकमा जानु परेको छ ।

    जापानमा सन् २०३० सम्म ६४ लाखभन्दा बढी कामदारको अभाव हुने आंकलन गरिएको छ । उक्त अभावलाई पूर्ति गर्न जापानले तीन वर्षअघि नै विदेशी कामदार भर्नासम्बन्धी नयाँ नीति ल्याएको थियो । तर निजी क्षेत्रलाई दिँदा ठगी हुने नेपालमा रहेको सरकारी सोचले जापान सरकारले लिएको लचिलो नीतिको लाभ नेपालीले पाउन सकेका छैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend