ढल्केबर : धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति भीषण आगलागी भएको छ। राति करिब १० बजे सुरु भएको आगलागीबाट प्रारम्भिक अनुमानअनुसार करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगका प्रबन्धक सन्जय गुप्ताले जानकारी दिएका छन्।
आगलागी नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँचवटा वारुणयन्त्र परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीका कारण उद्योगभित्र रहेका स्टिम र थर्मोफुल गरी दुईवटा प्रशोधन मेसिनमा गम्भीर क्षति पुगेको छ। ती मेसिनहरू पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेको र त्यसकै आधारमा करिब १५ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको प्रबन्धक गुप्ताले बताएका छन्।
उनका अनुसार क्षतिको यकिन विवरण संकलन गर्न अझै दुई–तीन दिन लाग्नेछ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ।
