१२ चैत, काठमाडौं । इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा ‘हजारौं’ सैनिक पठाएको छ । इरानले अमेरिकी सैनिक खाडी देशतर्फ परिचालित हुनुलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।
इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् ।
‘इरानी सेनाले शत्रुहरूको गतिविधि निगरानी गरिरहेको छ । यदि उनीहरूले कुनै कदम चाले भने, हामी निरन्तर र कठोर रूपमा त्यस क्षेत्रीय देशको महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नेछौं,’ सभामुख गलिबाफले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्टमार्फत भनेका छन् ।
तर उनले देशको नाम भने खुलाएका छैनन् । केही विश्लेषकहरूले भने इरानी सभामुखको चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित हुन सक्ने बताएका छन् । ‘कतिपयको बुझाइमा, उनले यूएईलाई संकेत गरेका हुन्, जसले अमेरिकालाई खार्ग टापु कब्जा गर्न सहयोग गर्न सक्छ,’ अल जजिराले लेखेको छ ।
अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ । यो व्यापारिक र रणनीतिक हिसाबले संवेदनशील मानिन्छ ।
इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै, यदि इरानी टापुहरू वा अन्य कुनै क्षेत्रमा सैन्य कारबाही भयो भने इरानले रेड सागरको प्रवेशद्वारमा लडाइँको नयाँ मोर्चा खोल्न सक्ने जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले पनि रक्षा मन्त्रालय पेन्टागनले खाडी क्षेत्रमा ‘हजारौं हवाई सैनिक’ र जल सैनिक पठाइरहेको जनाएका छन् ।
समाचारमा लेखिएअनुसार अमेरिकी सेनाको ८२ औं एयरबोर्न डिभिजनका करिब २ हजार सैनिकलाई खाडी क्षेत्रतर्फ जान आदेश दिइएको छ ।
