काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा भएपछि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर अवकाशमा गएका छन्। डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले कार्यकाल पूरा गरेपछि आइतबारदेखि औपचारिक रूपमा राष्ट्र बैंकबाट बिदा भएका हुन्।
दुवै जना अवकाशमा गएसँगै नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद एकैपटक रिक्त भएका छन्। अब ती पदमा कसलाई नियुक्त गरिन्छ भन्ने विषयलाई वित्तीय क्षेत्रले चासोका साथ हेरिरहेको छ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी अर्थात् कार्यकारी निर्देशक स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्।
कानुनी व्यवस्थाअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्छ। गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने व्यवस्था रहेको छ।
यसबीच नयाँ सरकार गठनको चर्चा भइरहेका कारण नियुक्ति प्रक्रियालाई लिएर थप चासो बढेको छ। नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आएमा एकल बहुमतको सरकार भएकाले निर्णय प्रक्रिया छिटो हुन सक्ने अनुमान गरिएको छ।
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। डेपुटी गभर्नरले मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण, वित्तीय स्थायित्व कायम गर्ने कार्य तथा संस्थाको प्रशासनिक व्यवस्थापनमा गभर्नरलाई सहयोग गर्ने जिम्मेवारी वहन गर्छन्।
त्यसैगरी राष्ट्र बैंकका विभिन्न विभागबीच समन्वय गर्ने, बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा नियमन गर्ने तथा वित्तीय प्रणालीको स्थायित्व कायम गर्नेतर्फ पनि डेपुटी गभर्नरको महत्वपूर्ण भूमिका रहने गर्दछ। गभर्नर अनुपस्थित हुँदा संस्थाको दैनिक प्रशासनिक तथा नीतिगत कार्यसमेत डेपुटी गभर्नरले सम्हाल्ने व्यवस्था रहेको छ।
दुई पद एकैपटक रिक्त भएपछि अब नयाँ डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिले सुरु हुन्छ र कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषय वित्तीय क्षेत्रको मुख्य चासो बनेको छ।
