काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका राजुनाथ पाण्डेले मतदाताप्रति आभार व्यक्त गर्दै आगामी पाँच वर्ष जनताको विश्वासअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धन्यवाद सन्देश जारी गर्दै उनले काठमाडौं–३ का सम्पूर्ण मतदाता, शुभेच्छुक तथा देश–विदेशबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा परिवर्तनको पक्षमा साथ दिने सबैलाई हार्दिक धन्यवाद दिएका छन्।
उनले रास्वपा र पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रति मतदाताले देखाएको विश्वासले आफूलाई ठूलो जिम्मेवारी बोध भएको उल्लेख गरेका छन्। साथै, काठमाडौं–३ का मतदाताले परिवर्तनको पक्षमा मतदान गर्दै आफूलाई अत्यधिक मतले विजयी बनाएकोमा कृतज्ञता व्यक्त गरेका छन्।
विजयी सांसद पाण्डेले आगामी पाँच वर्ष काठमाडौं–३ का जनताको भावना र आवाजलाई संघीय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, “मतदाताले विश्वास गरेर दिएको हरेक मतको कदर गर्दै म जनताको पक्षमा निरन्तर आवाज उठाउनेछु र आफ्नो निष्ठा तथा इमानका साथ जनसेवामा समर्पित रहनेछु।”
उनले यो विजयलाई काठमाडौं–३ का परिवर्तन चाहने जनता तथा कुशासनले आक्रान्त ‘भुईँ मान्छे’हरूको जीत भएको बताएका छन्।
साथै, निर्वाचन अभियानका क्रममा सहयोग गर्ने पार्टी सदस्य, पार्टी कमिटी, कार्यकर्ता तथा समर्थकहरूलाई समेत उनले धन्यवाद दिएका छन्। आगामी दिनमा पनि जनताबाट रचनात्मक सुझाव, सल्लाह र मार्गदर्शनको अपेक्षा रहेको उनले उल्लेख गरेका छन्।
